लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार बसेको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठकमा उनले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

मतदानमा सहभागी ७१ प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गरे । २६ जना सांसदले भने विपक्षमा मत दिए ।

मतदान सकिएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले प्रदेशसभाको बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरे ।

आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।

कुल ८३ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा सोमबारको बैठकमा आठ जना सांसद अनुपस्थित रहे । हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा उपस्थित भएनन् ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो ।

कांग्रेसको समर्थन फिर्तापछि सरकारलाई समर्थन गरिरहेका अन्य दलको साथ कायम राख्न सफल भएपछि आचार्यले प्रदेशसभामा बहुमत जुटाएका हुन् ।