काठमाडौं । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको हो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय तथा यसअघि तयार भएका अध्ययन र प्रतिवेदनको समीक्षा गरी अब चाल्नुपर्ने कदम पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सि.डि.ई. श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलमा मन्त्रालयका शाखा अधिकृत तथा उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्य छन् ।
कार्यदलले कारखाना पुनः सञ्चालन गर्ने वा नगर्ने विषयमा मात्रै अध्ययन गर्ने छैन । कारखाना सञ्चालनका लागि आवश्यक पर्ने वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी आधार समेत मूल्यांकन गरिनेछ ।
यसअघि वीरगञ्ज चिनी कारखानाका विषयमा गठन भएका विभिन्न कार्यदलले दिएका सुझाव तथा सिफारिसको समेत अध्ययन गरी विगतका निर्णय कार्यान्वयन हुन नसक्नुका कारण पहिचान गरिनेछ ।
कारखाना परिसरमा रहेका भवन, उत्पादन संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्था अध्ययन गरी पुरानै संरचना र उपकरणबाट कारखाना सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि तथा संरचनामा लगानी गर्नुपर्ने भन्ने विषयमा समेत कार्यदलले निष्कर्ष दिनेछ । यसले कारखाना पुनः सञ्चालन गर्दा आवश्यक पर्ने सम्भावित लगानी र प्राविधिक पुनर्संरचनाको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया