प्रधानमन्त्री बालेनलाई अमरेश सिंहदेखि हर्क राईसम्मले संसदमा आज प्रश्न गर्ने

प्रधानमन्त्री बालेनलाई अमरेश सिंहदेखि हर्क राईसम्मले संसदमा आज प्रश्न गर्ने


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले दर्ता गराएका प्रश्नको जवाफ दिने भएका छन्। बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको हो। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि विभिन्न दलका ११ सांसदले प्रश्न दर्ता गराएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्। नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ तथा नेकपाबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराएका छन्।   त्यस्तै, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले पनि प्रधानमन्त्री शाहसँग प्रश्न गर्नेछन्।

सांसदहरूले अधिकतम १५ वटासम्म प्रश्न दर्ता गर्न पाउने व्यवस्था भए पनि रास्वपाका सांसदले भने सातवटाको कोटामध्ये तीनवटा प्रश्न मात्रै दर्ता गराएका छन्। अन्य दलका सांसदले भने तोकिएको कोटाअनुसार प्रश्न दर्ता गरेको संसद् सचिवालयले जनाएको छ।  सभामुख डोलप्रसाद अर्यालले यसअघि भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। यसै क्रममा भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।

सभामुखले प्रतिनिधिसभा नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका थिए।  गत जेठ १७ गते संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नभई नेपालले पनि विभिन्न ठाउँमा भारतको भूमि मिचेको हुनसक्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरूले संसद्मा निरन्तर विरोध गर्दै आएका थिए।

प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिबारे संसद्मा जवाफ नदिएको भन्दै विपक्षी सांसदहरूले प्रश्न उठाउँदै आएका छन्। यही विषयलाई समेत जोडेर सभामुखले प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।   प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले दर्ता गराएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।