काठमाडौँ । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्रिशूली नदी आसपासका करिडोर सडक तत्काल बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको शाखाले जनाएको छ। बाढीको प्रभाव थप तलतर्फ फैलिँदै मुग्लिङसम्म पुग्न सक्ने भन्दै त्यस क्षेत्रका बासिन्दा तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेकाले नदी आसपास नजान, सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ। बाढीको सम्भावित असरलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गलगायत नदी किनारका सडकमा तत्काल आवागमन रोक्नुपर्ने अवस्था रहेको शाखाले जनाएको छ।

प्रतिक्रिया