रसुवा । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा रहेका सयौँ कन्टेनर भीषण बाढीले बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका सचिव आङदोर्जे शेर्पाका अनुसार भन्सार यार्डमा रहेका करिब २०० कन्टेनर बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यस्तै, चीनतर्फ सामान लिन जाने क्रममा लाइनमा रहेका करिब ३०० कन्टेनरसमेत बाढीको चपेटामा परेका छन्। शेर्पाका अनुसार बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। उनका आफन्तबाट गाउँ नै बाढीले बगाएको जानकारी आएको उनले बताए।
‘सयमा १० प्रतिशतजति मात्रै बाँकी होला। टिमुरेमै रहेका मेरा भाइहरूले गाउँ नै बगाएको जानकारी दिनुभएको छ। कन्टेनरहरू लाइनै थिए रे,’ उनले भने, ‘चीनतर्फ जाने बाटोको नक्सा नै छैन।’ बाढीमा परी घाइते भएका केहीलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको जानकारी आएको शेर्पाले बताए। उनका अनुसार करिब ७–८ जना घाइतेलाई उद्धार गरिएको प्रारम्भिक जानकारी छ।
हाल भन्सार कार्यालय रहेको टिमुरे क्षेत्रमा बाढीको बहाव केही कम भएको र टेलिफोन सेवा पनि क्रमशः सुचारु हुन थालेको बताइएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले पनि बाढीमा सयौँ कन्टेनर तथा ठूलो संख्यामा मानिस प्रभावित भएको बताए। एक्कासि आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको उनको भनाइ छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ।

प्रतिक्रिया