काठमाडौं । भारतले बाढीपहिरोबाट प्रभावित नेपालमा बेलिब्रिज पठाउने तयारी थालेको जनाएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले बुधबार भोटेकोसी नदीमा आएको बाढीका कारण थुप्रै पुल भत्किएर यातायात सम्पर्क प्रभावित भएपछि नेपालले माग गरेअनुसार बेलिब्रिज पठाउन भारतले काम गरिरहेको बताएका हुन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जैशवालले ‘बेलिब्रिज पठाउनका लागि हामी काम गरिरहेका छौँ’ भने । यद्यपि, भारतले कति वटा बेलिब्रिज पठाउने तयारी गरिरहेको छ भन्नेबारे उनले खुलाएनन् ।
जैशवालका अनुसार नेपालले गरेको अनुरोधअनुसार भारतले राहत सामग्रीसँगै बेलिब्रिज पठाउने तयारी गरेको हो । उनले हालसम्म भारतले दुई खेपमा ४७.५ टन राहत सामग्री नेपाल पठाइसकेको जानकारी दिए ।
भोटेकोसी नदीमा आएको बाढीले नेपाल–चीन सीमा जोड्ने सडक तथा पुलसहितका संरचनामा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापित गर्न अस्थायी पुल आवश्यक देखिएको छ ।

प्रतिक्रिया