देउवाले पाएनन् अन्तरिम आदेश, कांग्रेस महाधिवेशन अघि बढाउने बाटो खुला

देउवाले पाएनन् अन्तरिम आदेश, कांग्रेस महाधिवेशन अघि बढाउने बाटो खुला


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन प्रक्रिया तथा कांग्रेसका गतिविधि रोक्न माग गर्दै दायर रिटमा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

देउवा र खड्काले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यसपछि उनीहरूले अन्तरिम आदेशको माग गर्दै पूरक निवेदनसमेत दिएका थिए ।

दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले तत्काल महाधिवेशन प्रक्रिया रोक्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यससँगै कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउने बाटो तत्कालका लागि खुलेको छ ।