रसुवा बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ – प्रधानमन्त्री

रसुवा बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ – प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गर्ने तयारी गरिरहेको बताए ।

उनले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले विपद्पछिको अवस्थाबारे वास्तविकता बुझ्न तथा उनीहरूको मनोबल उच्च राख्न सहयोग पुगेको बताए ।

छलफलका क्रममा प्रभावित क्षेत्रका जनप्रतिनिधिबाट विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएको सुन्न पाउँदा आफू खुसी भएको प्रधानमन्त्री शाहले बताए । उनले विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गुनासो सुनिँदै आए पनि रसुवा बाढीको विपद्मा भने सबै तह एक ठाउँमा उभिएर काम गरेको बताए ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको जानकारी दिए । सडक सञ्चालनमा आएपछि बाढी प्रभावितलाई सामान्य अवस्थामा फर्किन सहज हुने उनको भनाइ थियो ।

बाढीपछि नदी तटीय क्षेत्रमा रहेका बस्तीको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेको पनि शाहले बताए । उनले भोटेकोशी बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुरानै स्थानमा पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।

नयाँ बस्ती बसाउँदा प्रभावितको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलगायतका विषयलाई ध्यान दिनुपर्ने उनले बताए । खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक ढंगले बस्ती व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

यसका लागि सुरक्षित स्थानमा जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । उनले प्रभावित क्षेत्र नजिकै तर जोखिमरहित स्थानमा बस्ती विकास गर्ने गरी सरकारले तयारी अघि बढाइरहेको बताए ।