असोज ३ गतेदेखि सुरु हुने महाधिवेशनमा सहभागी नहुन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने महाधिवेशनमा सहभागी नहुन शशांक कोइरालाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेसभित्रको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र नभई पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको बताएका छन् ।

उनले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने बताएका छन् । यस्तो अवस्थामा कार्यतालिका स्थगित गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्नुपर्ने वा सर्वोच्च अदालतको निर्णय पर्खनुपर्ने उनको भनाइ छ ।

कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि पद बाँडफाँडलाई आधार बनाउन नहुने बताएका छन् । निश्चित सर्त स्वीकार गरेपछि मात्र पद व्यवस्थापन गर्ने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधान मान्ने दृष्टिकोणले कांग्रेसको लोकतान्त्रिक संस्कार कमजोर बनाउने उनको भनाइ छ ।

उनले कांग्रेसका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन् ।

कोइरालाले असोज ३ गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । बरु असोज १५ गतेदेखि हुने वडा तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन उनले अपिल गरेका छन् ।

उनले वडा हुँदै विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन सम्पूर्ण कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

कांग्रेसको शक्ति इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा रहेको उल्लेख गर्दै कोइरालाले विधि, विधान, वैधानिकता र एकताको बाटोबाट मात्रै पार्टीलाई पुनः सशक्त र विश्वसनीय बनाउन सकिने बताएका छन् ।