काठमाडौँ । नेपाली कांग्रेसमा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढाउनलाई कुनैपनि हालतमा उचित मान्न नसकिने बताउनुभएको छ ।
डा कोइरालाले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै भन्नुभयो–‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढनु कुनैपनि हालतमा उचित मान्न सकिन्न ।’
उहाँले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।’
डा कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताउनुभयो । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाई छ ।
उहाँले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपु¥याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई वेवास्ता गरेको बताउनुभयो ।
डा कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको भन्दै पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
उहाँले द्यिमान अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गर्दै आश्विन ३ गतेवाट विधि प्रकृया मिचेर शुरु गर्ने भनिएको तथाकथित अधिवेशन÷महाधिवेशनमा भाग नलिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘१४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।’
उहाँले नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित भएको भन्दै विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सक्ने बताउनुभयो ।
डा कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, जनविश्वास र राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस आज असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै भन्नुभयो– ‘पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो ।’

प्रतिक्रिया