गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको घुइँचो

गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको घुइँचो


काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त भगवान् श्री गणेशको पूजा आराधना गर्न मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका प्रमुख गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यताअनुसार आज गणेश चतुर्थी मनाइँदैछ। यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा भइरहेको छ। शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक तथा शुभकार्यमा सबैभन्दा पहिले पूजा गर्ने परम्परा छ।

धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत पारायणपछि गणेश चतुर्थीका दिन गणेशको व्रत तथा पूजा गर्ने शास्त्रीय विधान छ। गणेश पुराणअनुसार भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन र सुख–शान्तिको कामना गर्ने व्रतालुले चतुर्थीका दिन जीवनमा कुनै विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्छन्।

आजको दिनलाई ‘मंगल चतुर्थी’ पनि भनिन्छ। नेवार समुदायले यस दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउने गर्छ। चथा पर्वमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा छ। यसै अवसरमा राष्ट्रिय धर्मसभा नेपालले विभिन्न गणेश मन्दिरमा पूजा आराधना तथा प्रवचन कार्यक्रम आयोजना गरेको छ। धर्मसभाका अध्यक्ष प्रा।डा। माधव भट्टराईका अनुसार संस्थाले विसं २०६५ देखि गणेश चतुर्थी पर्वका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ। राष्ट्रिय धर्मसभाले हरेक वर्ष गणेश रथयात्रासमेत आयोजना गर्दै आएको छ। सामान्यतया भाद्र शुक्ल पञ्चमीका दिन गरिने रथयात्रा यस वर्ष पञ्चमीसमेत मंगलबार नै परेकाले आजै आयोजना गरिँदैछ।