काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षालाई लिएर व्यक्त भइरहेका चिन्तालाई ‘होक्स’ अर्थात् झुटो प्रचार भन्दै तीव्र गतिमा विकास भइरहेको प्रविधिमा थप सुरक्षा व्यवस्था गर्नुपर्ने मागको आलोचना गरेका छन् ।
एआई कम्पनी एन्थ्रोपिकका सहसंस्थापक ज्याक क्लार्कले एआई अत्यधिक खतरनाक अवस्थामा पुगेमा पूर्ण रूपमा बन्द गर्न सकिने ‘किल स्विच’ अनिवार्य बनाउनुपर्ने हुनसक्ने बताएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । पछिल्ला दिनमा एआई प्रविधिले मानवतामाथि पार्न सक्ने जोखिमबारे प्रमुख एआई कम्पनीका अधिकारी र कर्मचारीहरूले चेतावनी दिँदै आएका छन् ।
यी चिन्ताका कारण लगानीकर्ताले एआई विकासमा सम्भावित सुस्तीको असर आकलन गर्न थालेपछि प्रविधि कम्पनीका सेयरमा समेत बिक्रीको दबाब देखिएको थियो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत एआईसम्बन्धी चेतावनीलाई उनले ‘ग्लोबल वार्मिङ स्क्याम’ भनेको विषयसँग तुलना गरेका छन् । उनले आफूलाई ‘होक्स बस्टर’ भन्दै एआई सुरक्षासम्बन्धी चिन्तालाई यसअघि उनले ‘रुसिया, रुसिया, रुसिया होक्स’ भन्दै आलोचना गरेको विषयसँग पनि तुलना गरेका छन् ।
एआईका लागि आवश्यक एकमात्र ‘गार्डरेल’ बलियो र बुद्धिमान राष्ट्रपति भएको ट्रम्पको भनाइ छ ।
अर्को पोस्टमा उनले एआई र डाटा सेन्टरविरुद्ध ‘अस्वस्थ षड्यन्त्र’ भइरहेको दाबी गर्दै त्यसबाट खुसी हुने एकमात्र देश चीन भएको बताएका छन् । उनले ‘जसले एआई जित्छ, उसैले जित्छ’ भन्ने धारणा पनि व्यक्त गरेका छन् ।
यसबीच चिनियाँ सरकारी सञ्चारमाध्यमले अमेरिकामा चीनको तीव्र एआई विकासप्रति बढ्दो चिन्ताले उसको नीतिगत प्राथमिकतालाई प्रभावित गरिरहेको विज्ञहरूको भनाइ उद्धृत गरेको छ । फुदान विश्वविद्यालयका अमेरिकी अध्ययनका प्राध्यापक सिन छियाङले चीन एआईमा बलियो प्रतिस्पर्धी बनेकाले अमेरिकाले विकास सुस्त बनाए वा कडा नियमन गरे चीन अझ छिटो अघि बढ्न सक्ने डर अमेरिकालाई रहेको बताएका छन् ।
एन्थ्रोपिकका सात संस्थापक सदस्यमध्ये एक क्लार्कले एआई अत्यधिक खतरनाक बनेमा सफ्टवेयरलाई पूर्ण रूपमा बन्द गर्न सकिने व्यवस्था आवश्यक हुनसक्ने बताएका छन् । उनका अनुसार अधिकांश एआई प्रयोगशालासँग प्रणाली बन्द गर्ने आ–आफ्नै उपाय छन् । तर यस्तो व्यवस्था अनिवार्य गर्न कानुन निर्माताले नियम बनाउनुपर्ने हुनसक्छ ।
बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले पनि एआईको प्रभावप्रति कहिल्यै लापरवाह हुन नहुने बताएका छन् । यद्यपि उनले एआईका जोखिमबारे अत्यधिक अतिरञ्जित धारणा बनाउनबाट पनि सावधान हुनुपर्ने बताए । सार्वजनिक सेवा, स्वास्थ्य र अर्थतन्त्रमा एआईका ठूलो फाइदा हुनसक्ने उनको भनाइ छ ।
एआईमा थप सुरक्षा उपायको माग गर्ने प्रविधि क्षेत्रका अधिकारी र राजनीतिक व्यक्तिको संख्या पनि बढिरहेको छ । माइक्रोसफ्ट एआईले यसै साता ‘ह्युमनिस्ट एआई’ सम्बन्धी दस्तावेज सार्वजनिक गर्दै आफूले विकास गरिरहेका एआई मोडलमा केही सीमितता कायम गर्नुपर्ने विषय अघि सारेको छ ।
माइक्रोसफ्ट एआईका प्रमुख कार्यकारी मुस्तफा सुलेमानले उक्त मार्गदर्शनका लागि आफूहरूले महिनौँदेखि काम गरिरहेको र अहिले एआईबारे भइरहेको बहसका कारण सार्वजनिक गर्ने निर्णय गरेको बताएका छन् ।
एआई नीतिमा पुनर्विचार गर्नुपर्ने बहसकै बीच अमेरिकी राजनीतिका दुई फरक धारका प्रभावशाली व्यक्तिहरू—ट्रम्पका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्यानन र प्रगतिशील सिनेटर बर्नी स्यान्डर्स—वासिङ्टनमा आयोजना हुने ‘प्रो–ह्युमन एसेम्ब्ली’मा सहभागी हुँदैछन् । उक्त कार्यक्रमले एआई विकासका लागि साझा दृष्टिकोण र थप मानवकेन्द्रित बाटो तय गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
स्यान्डर्सले गत साता बीबीसीसँग एआईको अनियन्त्रित विकास रोक्न तत्काल कदम चाल्नुपर्ने बताएका थिए । उनले एआईका कारण मानव जाति नै समाप्त हुनसक्ने सम्भावनालाई अस्तित्वगत जोखिमका रूपमा व्याख्या गरेका थिए ।
पछिल्ला दिनमा एआईको सम्भावित जोखिमबारे बहस अझ तीव्र भएको छ । एन्थ्रोपिक छाडेका अनुसन्धानकर्ता ज्याकब कोक्सनले एआईले मानवतालाई नै समाप्त पार्न सक्ने चिन्तासहित गरेको पोस्ट भाइरल भएपछि यस विषयमा थप बहस सुरु भएको हो ।
एन्थ्रोपिकका वैज्ञानिक इभान हुबिङ्गरले आगामी एक दशकभित्र एआईका कारण मानव जाति लोप हुने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको आफूलाई लाग्ने बताएका छन् ।
एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोडेइले पनि एआई विकासको गति सुस्त पारेर त्यसको थप निगरानी गर्नुपर्ने बताएका छन् । यद्यपि उनले एआई नियमन गर्दा व्यावसायिक लाभ गुमाउन नहुने बताएका छन् ।
ओपनएआईका प्रमुख साम अल्टम्यान र एक्सएआईका प्रमुख इलन मस्कले पनि उद्योगभर एआई विकासको गति सुस्त पार्ने, नियमन गर्ने तथा एआई मोडल विकासको स्वतन्त्र निगरानी गर्ने अमोडेइको प्रस्तावमा सहमति जनाएका छन् ।

प्रतिक्रिया