१०३ प्रकारका एन्टिबायाेटिक नेपालमा ‘ब्यान्ड’, कुन-कुन औषधि पाइँदैन खान ?

१०३ प्रकारका एन्टिबायाेटिक नेपालमा ‘ब्यान्ड’, कुन-कुन औषधि पाइँदैन खान ?


काठमाडाैँ ।

सरकारले १०३ प्रकारका एन्टिबायोटिक (प्रतिजैविक प्रतिरोध) औषधि प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्न प्रयोगमा नल्याउन निर्देशन दिएको बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन। ती प्रतिजैविक औषधिको प्रयोग गर्न औचित्य नभएको समेत उनले बताए।

‘डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ,’ उनले भने, ‘ती औषधि न दर्ता गर्छौ न प्रयोगका लागि अनुमति नै दिन्छौँ।’

उनका अनुसार १०३ मध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने दर्ता गरिएका छन्।

विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ।

महानिर्देशक ढकालले प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताए।

विभागमा दर्ता भएका र नभएका तथा डब्लुएचओबाट सिफारिस नगरिएका प्रतिजैविक औषधिको सम्मिश्रणहरू र सो औषधिको सम्मिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ/दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधिको समिश्रणको उत्पादन अनुज्ञापत्र, बजार विक्री वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ।

विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधिको कच्चा पदार्थ तथा प्राइमरी र सेकेण्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेस गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधिको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधिको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ।

यस्तै विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने छ महिनासम्म मात्र बिक्रीवितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिए।

उनका अनुसार हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधि एवं सम्मिश्रणको हकमा निर्णय भएको मिति अर्थात यही भदौ १८ गतेदेखि बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ।