अलमलमा नपरी कांग्रेस महाधिवेशनमा सहभागी हुन गगन थापाको अपिल

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा सहभागी हुन गगन थापाको अपिल


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन् ।

भदौ ३० गते अपिल जारी गर्दै थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनको पूर्वतयारीका रूपमा वडा तहदेखि सुरु हुने अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन् ।

उनले पार्टीभित्र फरक मत र असमझदारी हुनसक्ने भन्दै संवाद, विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् । नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहेको उनको भनाइ छ ।

थापाले पार्टीको आन्तरिक जीवनमा सबै सदस्य सहभागी भएर हुने महाधिवेशन नै फरक विचारलाई सम्मान, सम्बोधन र उचित विचारलाई अनुमोदन गर्ने उत्तम माध्यम भएको बताएका छन् । सामूहिक प्रयासबाट कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो पार्टी बनाउने उनले उल्लेख गरेका छन् ।

उनका अनुसार पार्टीका अग्रज नेता तथा विभिन्न तहका पदाधिकारी र सदस्यबाट आएको सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म सदस्यता नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज रूपमा सहभागी गराउने निर्णय गरिएको छ । सोहीअनुसार सदस्यता व्यवस्थापन समितिले सदस्यताको नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिएका छन् ।

थापाले भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने गरी आवश्यक प्रबन्ध गरिसकेको पनि बताएका छन् ।

त्यस निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको भन्दै उनले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुने स्पष्ट पारेका छन् ।

थापाले असोज ३ गते वडाबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशनसम्मका सबै तहका अधिवेशनमा निर्धारित कार्यतालिकाअनुसार सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका छन् ।

साथै, सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराएर महाधिवेशन सम्पन्न गर्न उनले अपिल गरेका छन् ।