ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै


काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ ।

त्यसक्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

पर्यटकको सुविधाका लागि रेलिङसहितको पदमार्ग, विश्रामस्थललगायत आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । ऐतिहासिक महत्व बोकेको दुङमागढीको विकास तथा संरक्षणमा पालिकाले जोड दिइरहेको अध्यक्ष राईको भनाइ छ ।

यस्तै, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटकीय सम्भावना बोकेका ठाउँको पहिचान र पूर्वाधार विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । त्यस गढी पर्यटकीय सम्भावना रहेकाले प्रचारप्रसारमा ध्यान दिइएको उहाँले जानकारी दिनुभयो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण दुङमागढी क्षेत्रमा पछिल्लो समय वनभोज र मनोरम दृश्य अवलोकन गर्ने मानिसको उपस्थिति बढ्दै गएको छ । त्यसक्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलासँगै समथर फाँटले आगन्तुकको मन लोभ्याउने गरेकामा पूर्वाधार निर्माणपछि अझ बढी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेको स्थानीयको भनाइ छ ।