‘कांग्रेस विभाजनबाट रोमाञ्चित हुन सक्दिन’ : डा शेखर कोइराला

‘कांग्रेस विभाजनबाट रोमाञ्चित हुन सक्दिन’ : डा शेखर कोइराला

कांग्रेस विभाजन रोक्न शेखरको मध्यमार्ग आह्वान


काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको गम्भीर विभाजन र आसन्न दुई महाधिवेशनप्रति चिन्ता व्यक्त गर्दै मध्यमार्गी समझदारी र एकताको बाटो अपनाउन आग्रह गरेका छन्।

असोज १ गते जारी गरेको प्रेस बक्तव्यमा कोइरालाले मुलुकको वर्तमान अवस्था र कांग्रेसको आन्तरिक जीवनमा आएको विभाजनप्रति आफ्नो धारणा राखेका छन्। उनले भनेका छन्, ‘कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार–चढाव आउँछन्। नेतृत्वले समझदारीपूर्वक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ, नत्र कैयौं राष्ट्रले आफ्नो अस्तित्व गुमाएको इतिहास हामीलाई विदितै छ। नेपाल आज त्यही चौबाटोमा उभिएको छ।’

कांग्रेसको गौरवशाली इतिहास स्मरण गर्दै उनले संस्थापक नेताहरू विशेषगरी बीपी कोइरालाको दर्शनलाई आधार मानेर पार्टीले कहिल्यै स्वाधीनता र लोकतन्त्रसँग सम्झौता नगरेको उल्लेख गरे। तर अहिले पार्टीको अवस्थाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्, मलाई थाहा छैन। मलाई यसबाट पीडा छ।’

कोइरालाले आसन्न दुई महाधिवेशनबाट राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टीलाई ‘बिभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझी’ जस्तो भएको बताए। साथै रसुवा, नुवाकोट, धादिङलगायत स्थानमा भएको विपत्तिका पीडितप्रति पार्टी संवेदनशील हुन नसकेकोप्रति पनि प्रश्न उठाए।

‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन,’ उनले लेखेका छन्, ‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ? यो कांग्रेसको संस्कार र संस्कृतिभन्दा भिन्न कुरा हो।’

कोइरालाले कसैप्रति आरोप–प्रत्यारोप नगर्ने बताउँदै सबै कांग्रेसजनलाई पार्टी एकता र राष्ट्र निर्माणको अभियानमा जुट्न हार्दिक अनुरोध गरेका छन्। उनले भने, ‘हामी उठ्छौं, जुट्छौं र जित्छौं। यही भरोसाबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ।’

बक्तव्यको अन्त्यमा उनले गाउँ–टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने सबै साथीहरूलाई पार्टी एकतामा दृढ संकल्पका साथ लाग्न आग्रह गर्दै ‘जय नेपाल’ भनेका छन्।

पुर्ण पाठ

प्रिय साथीहरु,
जय नेपाल ।
अत्यन्त गम्भिरतापूर्बक साथीहरु माझ म पत्र मार्फत बर्तमान देशको अवस्था र नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको बिभाजनवारे आफ्‌नो बिचार संक्षिप्तमा राख्न गैरहेको छु ।

साथीहरु,
कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार–चढाव र सफलता–बिफलता आउँछन । नेतृत्वले समझदारीपूर्बक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ नत्र कैयन राष्ट्रले आफ्‌नो अस्तित्व गुमाएको इतिहाँस हामी सबैलाई बिदितै छ । नेपाल आज त्यही चौबाटोमा उभिएको छ । मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने चिन्ता सिर्जना भएको छ ।

हामी नेपालीे एकाकार भएकै कारण कहिल्यै कसैको अधिनमा बस्नु नपरेको गौरवशाली इतिहाँस निर्माण गर्न सकेका छौं। त्यस्तै नेपाली कांग्रेसको पनि आफ्‌नै गौरवशाली इतिहाँस छ ।
कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधिनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन । पद, प्रतिष्ठा र प्रलोभनमा नपरी बिगतमा हाम्रा संस्थापक नेताहरुले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्ति सहितको कांग्रेस छाडेर गएका छन । यसको इतिहाँस संघर्ष, त्याग र बलिदानले मात्र भरिएको छैन, नेपाललाई आधुनिक राष्ट्र बनाउन र नागरिकको सर्वोच्चता कायम गर्न गरेको कार्य हामी सबैका लागि प्रेरणादायक छ ।

सबैका प्रणेता र मूूर्धन्य नेता बिपी कोइराला लगायत यस पार्टीका संस्थापक नेताहरुको राजनीतिक, नैतिक, सामाजीक र सांस्कृतिक जीवन दर्शनले सदासर्बदा हामी तमाम कांग्रेसजनको लागि मात्र होइन सम्पुुर्ण नेपाली जनतालाई गौरवान्वित बनाइरहने छ ।
दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन मलाई थाहा छैन । मलाई यसबाट पिडा छ र मेरो पिडासँग तमाम कार्यकर्ता साथीहरुको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूूमिका होस भन्ने चाहन्छन ।

मेरो पिडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्र्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौं एउटा मध्यमार्गी र बिवेकपूर्ण समझदारीको बाटो खोजौं । मेरो प्रयत्न बिगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ । हामी जो आफुलाई कांग्रेस भन्छौं र कांग्रेस हुनुमा गौरब पनि अनुुभब गर्छौं । किमार्थ पनि मानसिक रुपमा यति कमजोर र निरिह नहुनुपर्ने हो, जति आज छौं । हामीले बिरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन अजेय पनि थियो । दुःखका साथ भन्नुुपर्छ आज हामी न अजेय छौं, न बिजय नै छौं । हामी बिभाजित, बिघटनकारी र समुद्रमा गन्तब्य हराएको माझि झैं भएका छौं ।

हामी किन यस्तो छौं ? किन हामीलाई रसुवा, नुवाकोट, धादिङ्ग लगायत स्थानमा भएको बिपत्तीले पिडा दिदैन ? किन हामी आज प्राकृतिक प्रकोपको कारण अभाव र बञ्चनामा परेका र जीवन गुुमाएकाहरुसँग संबेदनशिल हुन सक्दैनौं ? नेपाली जनता रोइरहेका छन, सर्बसाधारणहरु चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुुमाएर चेतनाशुन्य भएर बसेका छन । उनीहरूको दर्द र पिडा किन हामी बुभ्‌न सकिरहेका छैनौं ? हामी के गर्दैछौं ? हामी किन कानुन र बिधानका धाराहरुबाट बाध्य झैं पारिएर मानबीय संबेदनासँग खेलवाड गर्दैछौं ?

किन सहमति, सहकार्य र एकताबद्ध भएर चहराईरहेको घाउको मल्हम बन्न हामी सकिरहेका छैनौं र कांग्रेस यसरी आफ्नो राष्ट्रिय दायित्वबाट बिमुख भैरहँदा भावी पुस्तालाई कसरी आफुुसँग जोड्न सक्छौं ?

मैले मेरा परिवेश, पृष्ठभूमि र प्रशिक्षणबाट सिकेका न्यूनतम मान्यताहरुबाट कांग्रेस बिचलित हुँदा स्वभाविक छ मेरो मन पनि उद्धेलित हुँन जान्छ । म कांग्रेस बिभाजनबाट रोमाञ्चित हुनै सक्दिन । म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छुु ? कांग्रेस हुँ भन्ने तर आफ्‌नै साथीभाई माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन । कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनी बिजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ? यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक छ ।

बिश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परिरहेको सन्दर्भमा म कांग्रेस नेता बिपी कोइरालालाई स्मरण गर्न पुग्दछु र सोच्दछु, आफ्‌नो ज्यानको प्रवाह नगरी यो देशको अस्मिता जोगाउने ति महापुुरुषलाई साक्षि राखेर हामी किन एकताबद्ध हुन नसकेको होला ।

मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो । म आरोपित भएर, भैरहेको पनि छुु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।

साथीहरु,
म कसैप्रति आरोप प्रत्यारोप गर्न चाहन्न । हामी सफल हुन्छौं भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो संभव छ । हाम्रो बिवेक मरेको छ भन्ने कुरामा म किमार्थ बिश्वास गर्दिन । हामी उठ्छौं जुट्छौं र जित्छौं
यही भरोसा र बिश्वासबाट साधारण भन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुुटन सक्छ । यस अभियानमा म गाउँ टोलदेखी केन्द्रहुँदै बिदेश सम्म बस्ने साथीहरुलाई पार्टीलाई एकताबद्घ राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु । कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरकरुपमा बुझ्न सक्दिन । म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईहरुसँग भेट्न गाउँघर आईरहने छु ।
जय नेपाल ।

डा शेखर कोइराला
मिति : असोज १, २०८३ ।