शेरबहादुरलाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह

शेरबहादुरलाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको बृहत्तर एकताका लागि आफू निरन्तर पहलमा रहेको बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने बताए । उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरे ।

‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ । मेरो पनि अनुरोध छ – महाधिवेशन उद्घाटन गर्न आउनुहोस्,’ थापाले भने ।

थापाले पार्टीको बृहत्तर एकताका लागि आफूले गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताए ।

‘हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन । पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने ।

आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित रहेको उल्लेख गर्दै थापाले निर्धारित समयमै महाधिवेशन सम्पन्न हुने दाबी गरे ।

बैठकमा देउवानिकट नेताहरूको समेत उपस्थिति रहेको छ ।