काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औं महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीका शीर्ष नेतासँग संवाद थाल्न आग्रह गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमार्फत थापालाई यस्तो आग्रह गरेका हुन् । उनले पार्टीमा एकता कायम गर्न सभापति थापाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेतासँग तत्काल वार्ता र संवाद सुरु गर्नुपर्ने बताएका छन् ।
उनले थापाले पछिल्लो समय लिएको निर्णय केही समयअघि नै लिएको भए कांग्रेसभित्र एकता कायम हुने र पार्टी निर्माणका लागि नयाँ ऊर्जा पैदा हुने आफ्नो धारणा रहेको उल्लेख गरेका छन् ।
खड्काले असोज ३ गतेदेखि सुरु गर्ने गरी घोषणा गरिएको १५औं महाधिवेशनको कार्यतालिका स्थगित गरी केही समयपछि सार्नसमेत आग्रह गरेका छन् । त्यसपछि थापाकै अग्रसरतामा देउवा र अन्य अग्रज नेतासँग वार्ता गरेर पार्टीको सम्पूर्ण एकता कायम गर्न पहल गर्नुपर्ने उनको भनाइ छ ।
‘दुई वटा अलग-अलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन,’ खड्काले लेखेका छन् ।
उनले कांग्रेस विभाजनको असर अन्य राजनीतिक दलमा समेत पर्न सक्ने र त्यसले मुलुकमा गम्भीर राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउन सक्ने आशंका पनि व्यक्त गरेका छन् । पछिल्ला घटनाक्रम र राजनीतिक गतिविधिले देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वाभिमानमा समेत चुनौती आउन सक्ने उनको दाबी छ ।
खड्काले पार्टी विधान, कानुन र अदालतका निर्णयका कारण थापालाई कुनै समस्या नपर्ने भन्दै एकताको पहलका लागि ‘निर्णायक र साहसिक कदम’ चाल्न आग्रह गरेका छन् ।
उनले विगतका घटनाक्रम र आफूले प्राप्त गरेका सुझावलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्दै थापालाई सम्पूर्ण कांग्रेसको सभापति बन्ने दिशामा अघि बढ्न आग्रह गरेका छन् । पार्टी एकताका लागि आफू कुनै महत्वाकांक्षाबाट मुक्त भएर आवश्यक त्याग गर्न तयार रहेको पनि खड्काले बताएका छन् ।

प्रतिक्रिया