को हुन् चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. कल्याणराज शर्मा ?

को हुन् चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. कल्याणराज शर्मा ?


काठमाडौं । सरकारले नेपाल–चीन मामिलाका विज्ञ डा. कल्याणराज शर्मालाई चीनका लागि नेपाली राजदूतको रुपमा सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्‌को शुक्रबार (२ असोज) को बैठकले शर्मालाई उत्तरतर्फको छिमेकी चीनमा चीन मामिलाकै विज्ञ डा. कल्याणराज शर्मालाई राजदूतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले चीनको आर्थिक राजधानीको रुपमा परिचित सांघाइस्थित विश्वप्रसिद्ध फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनको अनुसन्धानको मुख्य क्षेत्र प्रत्यक्ष वैदेशिक लगानी, व्यापार, पर्यटनमा लगानी तथा आर्थिक विकास हो ।

नेपाल–चीन सम्बन्धमा जानकार समेत रहेका शर्मा सार्वजनिक कूटनीति प्रवद्र्धक तथा सफल उद्यमीका रूपमा समेत परिचित छन् । शर्मासँग पर्यटन, शैक्षिक क्षेत्र, संस्थागत शासन, अन्तर्राष्ट्रिय नीति मञ्च, द्विपक्षीय सहकार्य तथा अन्य क्षेत्रमा दुई दशकभन्दा बढी नेतृत्व अनुभव रहेको छ ।

नेपाल–चीन सम्बन्धको प्रवद्र्धन, दिगो हिमाली पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्य, सीमापार आर्थिक संलग्नता तथा अन्तर्राष्ट्रिय सम्मेलन र क्षेत्रीय नीति संवादमा प्रमुख वक्ताका रूपमा सहभागिताका लागि उनी परिचित छन् ।

चिनियाँ (मन्दारिन) भाषामा धाराप्रवाह प्रवचन दिनसक्ने डा. शर्माको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र चिनियाँ सरकारी उच्च तहमा समेत राम्रो सम्बन्ध भएका प्राज्ञिक व्यक्तिका रुपमा चिनिन्छन् । काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टमा सन् २०१६ देखि चीनमा व्यवसाय सञ्चालन’ विषयक पाठ्यक्रम तयारी र अध्यापन एवं चिनियाँ संस्कृति, व्यापार प्रणाली र समाज तथा चिनियाँ विदेशनीति बारे अध्यापन गराउँदै आएका छन् ।

सन् २०१३ मा स्थापना भएको ‘नेपाल–चीन फ्रेन्डसिप फोरम’ नामक संस्थाको अध्यक्ष रहेका शर्माले फुदान विश्वविद्यालय पूर्वविद्यार्थी संघ, नेपालका अध्यक्ष समेत हुन् । यी संस्थाको माध्यमबाट नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन उनले भूमिका खेल्दै आएका छन् । उनी सन् २०२२ देखि हालसम्म नेपाल सिनोलोजिष्ट परिषदकोसमेत अध्यक्ष छन् ।