काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका ११ जनाको शव फेला परेको छ ।
भदौ १० गते आएको बाढीपछि आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजी गर्ने क्रममा अडिट–३ टनेलमा जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला परेको हो ।
नेपाली सेनाको उद्धार टोलीले फेला परेका सबै शव बाहिर निकालेको छ ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले टनेल तथा आसपासका क्षेत्रमा थप बेपत्ताको खोजी कार्य जारी राखेको छ ।
भोटेकोशीमा आएको बाढीका बेला आयोजनाको सुरुङभित्र कति मजदुर प्रवेश गरेका थिए भन्ने अझै यकिन हुन सकेको छैन । आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये बाढीपछि ४९२ जना सम्पर्कविहीन रहेको जनाइएको छ ।
कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ । आयोजनाका अन्य संरचनामा समेत उद्धार तथा खोजी कार्य जारी छ ।
यसैगरी त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका सुरुङ तथा पावर हाउस क्षेत्रमा पनि नेपाली सेना र सुरक्षाकर्मीको टोलीले खोजी कार्य गरिरहेको छ ।

प्रतिक्रिया