सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी


काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको ११ वर्ष : कार्यान्वयनमा चुनौती र अबको बाटो संशोधन’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले वर्तमान गणतन्त्रको औचित्यता समाप्त भइसकेको दाबी गरे ।

सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका मुख्य संरचनामाथि भएका घटनाहरूको स्मरण गराउँदै उनले भने, ‘जसले आफैँ सिंहदरबार जलाउँछु भन्यो, र सिंहदरबार जल्दाखेरि नगरपिताको रूपमा रहेको व्यक्तिले एउटा दमकल पठाएन । जसको बारेमा पूर्व प्रधानन्यायाधीशले बोलिसक्नुभएको छ । सिंहदरबार जलाउने, सर्वोच्च अदालत जलाउने कुरा गणतन्त्रमा मात्रै सम्भव भयो । त्यसैले म भन्छु— यो गणतन्त्रको औचित्यता समाप्त भइसक्यो ।’

सम्बोधनकै क्रममा डा. भण्डारीले धारा ७६ भन्दा बाहिर गएर सरकार बनाउने परिकल्पना संविधानले नगरेको उल्लेख गर्दै अदालतले समेत यस्ता विषयमा समयमै निर्णय दिन नसकेर आफ्नो औचित्यता गुमाएको आरोप लगाए ।

उनले भने, ‘आजको संविधान दिवसका दिनमा डेमोक्रेसीलाई बचाउनुपर्छ । यो संविधानलाई बचाउन सकिन्छ, तर एउटा कन्डिसनमा— त्यो हो राजसंस्था सहितको धर्मसापेक्ष, वैदिक सनातन धर्मसापेक्ष राज्य कायम गर्ने । नागरिकहरू नै सार्वभौमसत्ता सम्पन्न हुन् र राजनीतिक शक्तिको स्रोत जनता हुन् भन्ने कुरा स्थापित गर्ने । म राजतन्त्रको पक्षमा छैन, म राजसंस्थाको पक्षमा छु ।’

यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता तथा संघीयताविद् डा. खिमलाल देवकोटाले संविधान र संघीयताले मुलुकलाई दिएका सकारात्मक उपलब्धिहरूको चर्चा गरे ।

संविधानले राज्यका अधिकारहरूलाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याएको उल्लेख गर्दै उनले भने, ‘मैले पटकपटक भन्ने गरेको छु— यो व्यवस्था पनि अहिले संविधानले तीन तहको राज्य संयन्त्रको व्यवस्था गरेको छ । यो एक खालको संवैधानिक विकेन्द्रीकरण हो। किनभने यो पावर सेयरिङ हो । तपाईंले काठमाडौँमा बसेर मात्रै शासन सत्ता चलाउनुभयो भने त्यो दूरदराजका नागरिकले सरकारको अनुभूति गर्दो रहेनछ, त्यसकारण हामीलाई यो शासन चाहिन्छ ।’

नेपालको संविधानले सुनिश्चित गरेको समावेशिताको अभ्यास अन्य विकसित देशहरूको भन्दा उत्कृष्ट रहेको तथ्य प्रस्तुत गर्दै डा. देवकोटाले भने, ‘हाम्रो संविधानको सुन्दर पक्ष भनेको समावेशिता हो । पहिला हामी स्थानीय निकाय भन्थ्यौँ, अहिले स्थानीय सरकार भन्छौँ । अहिलेको स्थानीय सरकारमा महिलाको उपस्थिति हेर्नुभयो भने ४२ प्रतिशतसम्म देख्नुहुन्छ । हाम्रो संसद्मा कम्तीमा एक तिहाइ महिलाहरू हुनुहुन्छ । भारत, चीन, अमेरिका र जापान जस्ता मुलुकको तुलनामा हाम्रो संसद् र स्थानीय सरकारमा महिलाहरूको उपस्थिति निकै राम्रो छ । यो भनेको यो संविधान र आन्दोलनले दिएको ठूलो उपलब्धि हो ।’

डा. देवकोटाले संविधान एक गतिशील दस्ताबेज भएकाले आवश्यकता अनुसार संशोधन गर्दै अगाडि बढ्न सकिने तर यसका आधारभूत उपलब्धिहरूलाई भने जोगाएर लैजानुपर्नेमा जोड दिए ।