मस्को क्षेत्रमा युक्रेनी ड्रोनको ‘ठूलो’ आक्रमण, दुई जनाको मृत्यु

मस्को क्षेत्रमा युक्रेनी ड्रोनको ‘ठूलो’ आक्रमण, दुई जनाको मृत्यु


काठमाडौं । रुसको मस्को क्षेत्रमा युक्रेनले रातभर गरेको ‘ठूलो’ ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार २४९ वटा ड्रोन खसालिएको छ। आक्रमणका कारण केही आवासीय घरमा आगलागी भएको छ भने स्थानीय एउटा गोदाममा पनि आगो लागेको छ। राजधानी मस्कोमा रहेको तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ भने दुई विमानस्थलमा उडान प्रतिबन्ध लगाइएको थियो।

यसैबीच, एक युक्रेनी अधिकारीले शनिबार रुसले गरेको आक्रमणमा किभ र सुमी क्षेत्रमा तीन बालबालिकासहित आठ जनाको मृत्यु भएको बताएका छन्।

पछिल्लो समय रुस र युक्रेनले एकअर्काविरुद्धका आक्रमण तीव्र बनाएका छन्। दुवै पक्षले ऊर्जा उत्पादन तथा यातायात पूर्वाधारका साथै प्रमुख रसद केन्द्रलाई निशाना बनाउँदै आएका छन्।

आइतबार टेलिग्राममा पोस्ट गर्दै भोरोब्योभले ड्रोनले तीनतले आवासीय भवनमा प्रहार गर्दा सोफिनोमा ४४ वर्षीया महिलाको मृत्यु भएको बताए। उनका अनुसार घटनामा दुई बालबालिकासहित थप पाँच जना घाइते भएका छन्।

ओरेखोभो–जुयेभो जिल्लामा एउटा निजी घरमा ड्रोन प्रहार हुँदा एक वृद्ध पुरुषको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताए।

सामाजिक सञ्जालमा मस्को क्षेत्रमा रातको आकाशमा विस्फोट भएको र एउटा गोदाममा आगो लागेको देखिने भिडियो सार्वजनिक भएका छन्। ती भिडियोको बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गरेको छैन।

यसैबीच, मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीका एक बुलेभार्डनजिकैको भवनमा ड्रोन प्रहार भएको र तेल प्रशोधन केन्द्रको एउटा संरचनामा क्षति पुगेको बताए।

उनले सामाजिक सञ्जालमार्फत मस्कोतर्फ आउँदै गरेका ४५० ड्रोन खसालिएको र यसलाई ‘अभूतपूर्व आक्रमण’ भनेका छन्।

मस्कोको सबैभन्दा ठूलो विमानस्थल शेरेमेत्येभोले यात्रुलाई ‘अस्थायी प्रतिबन्ध’ लगाइएको जानकारी गराएको थियो। राजधानीको भ्नुकोभो विमानस्थलमा भने सबै उडान र अवतरण रोकिएको थियो। आइतबार बिहान दुवै विमानस्थलमा लगाइएको प्रतिबन्ध हटाइए पनि केही उडान ढिला हुन सक्ने चेतावनी दिइएको थियो।

युक्रेनमा किभ क्षेत्रका प्रमुख तिमुर तकाचेन्कोका अनुसार शनिबार रुसले गरेको आक्रमणमा फास्टिभ सहरमा एक आमा र उनका दुई साना छोराछोरी—एक छोरा र एक छोरी—को मृत्यु भएको छ। आक्रमणमा केही निजी घरमा पनि क्षति पुगेको छ।

पछि उनले किभको उत्तरमा रहेको भिश्होरोडमा भएको छुट्टै आक्रमणमा घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको बताए।

उत्तर–पूर्वी सुमी क्षेत्रमा रुसी ड्रोनले उनीहरू यात्रा गरिरहेको कारमा प्रहार गर्दा चार जनाको मृत्यु भएको स्थानीय उच्च अधिकारी ओलेह ह्रिहोरोभले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत रुस र युक्रेन दुवै ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दाबी गरे पनि पछिल्लो एक सातामा दुवै देशले ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाएका छन्।

शुक्रबार ट्रम्पले रुसको अर्थतन्त्रलाई लक्षित गर्दै प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए। त्यसअन्तर्गत रुसको तेल तथा ग्यासका प्रमुख खरिदकर्तामाथि शुल्क लगाउने व्यवस्था गरिएको छ। चीन र भारत रुसको ऊर्जा खरिद गर्ने प्रमुख देश हुन्।

अमेरिकी कानुनले रुसको ऊर्जा खरिद गर्ने प्रमुख देशमाथि १०० प्रतिशतसम्म शुल्क लगाउने अधिकार ट्रम्पलाई दिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेका थिए।