भाटभटेनीका १२ मध्ये १० शाखा सुचारुः दमक र हेटौंडा छिट्टै खुल्ने

भाटभटेनीका १२ मध्ये १० शाखा सुचारुः दमक र हेटौंडा छिट्टै खुल्ने


काठमाडौं । आगजनीका कारण क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा मर्मत तथा पुनर्निर्माणको कार्य सम्पन्न भई सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आएको छ।

सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशभरका कुल १२ वटा स्टोरहरूमध्ये टंगालसहित १० वटा स्टोरहरू अहिले नियमित रूपमा सञ्चालनमा आइसकेका छन्। साथै, बाँकी रहेका दमक र हेटौंडा शाखाहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

लामो समयपछि टंगाल शाखा सञ्चालनमा आउनासाथ बिहानैदेखि ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्टोर बन्द रहँदा दैनिक उपभोग्य सामान खरिद गर्न निकै सास्ती व्यहोर्नुपरेको भन्दै नियमित उपभोक्ताहरूले पुनः सेवा सुचारु भएपछि खुसी व्यक्त गरेका छन्।