काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय उठिरहेको पुनर्गठनको नारालाई आफूलाई विस्थापित गर्ने उद्देश्यले बजाइएको ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन्। सोमबार बसेको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभएको उल्लेख गरेका छन्। उनका अनुसार असाधारण र असहज परिस्थितिमा मात्र बाध्यकारी रूपमा पार्टी पुनर्गठन गर्नुपर्ने हुन्छ।
ओलीले कम्युनिस्ट आन्दोलनको इतिहासमा हालसम्म तीन पटक बाध्यकारी अवस्थामा पार्टी पुनर्गठन भएको दाबी गरेका छन्। पहिलो पटक २०१८ सालमा पार्टी पुनर्गठन भएको उनले उल्लेख गरेका छन्। २०१७ सालमा राजा महेन्द्रको कदमपछि तत्कालीन महासचिव केशरजङ्ग रायमाझी राजावादी र दक्षिणपन्थी बनेपछि २०१८ सालको ‘दरभंगा प्लेनम’ र तेस्रो महाधिवेशनमार्फत पार्टी पुनर्गठन गरिएको उनको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, दोस्रो पुनर्गठन २०२८ सालमा भएको ओलीले बताएका छन्। पार्टी छिन्नभिन्न र अकर्मण्य बनेको अवस्थामा २०२७–२०२८ सालको झापा आन्दोलनमार्फत नयाँ क्रान्तिकारी नीतिका साथ पार्टी पुनर्गठन गरिएको उनको भनाइ छ। तेस्रो पुनर्गठन २०७५–२०७७ सालमा भएको उनले उल्लेख गरेका छन्। पार्टी कब्जा गर्ने र आन्दोलन सिध्याउने आन्तरिक षड्यन्त्र भएपछि बाध्य भएर पुनर्गठन गर्नुपरेको ओलीको दाबी छ। अहिले उठाइएको पुनर्गठनको नाराको भने कुनै औचित्य नरहेको र समय–सन्दर्भ नमिलेको उनले बताएका छन्।
ओलीले आफू नेतृत्व हस्तान्तरणको विरोधी नभएको स्पष्ट गर्दै त्यसका लागि विधि, समय, तयारी र परिपक्वता आवश्यक पर्ने बताएका छन्। ‘हतारमा कसैलाई पार्टीको साँचो थमाउनु हस्तान्तरण नभएर अस्थिरता निम्त्याउनु हो,’ उनले प्रतिवेदनमा भनेका छन्। पार्टीको महाधिवेशन, कमिटी र विधानले गर्ने निर्णय आफूले स्वीकार गर्ने तर बाहिरको हल्ला, क्षणिक आक्रोश वा दबाबका भरमा पद नछाड्ने उनको भनाइ छ।
उनले पुस्तान्तरणलाई पुराना र नयाँ पुस्ताबीचको लडाइँका रूपमा प्रस्तुत गर्न नहुने बताएका छन्। ‘बा हटाऊँ, छोरा ल्याऊँ’ जस्तो भावनात्मक नाराभन्दा रूपान्तरणको अर्थ कार्यशैली परिवर्तन, निर्णय प्रक्रिया छरितो बनाउने र डिजिटल युगअनुसार नयाँ पुस्तासँग जोडिने विषय भएको ओलीको भनाइ छ। संकटको समयमा नेतृत्वबाट पछि हट्नु गैरजिम्मेवारी हुने भन्दै ओलीले अहिले नेतृत्वमा रहनु आफ्नो जिद्दी वा पदको लोभ नभई ऐतिहासिक जिम्मेवारी भएको दाबी गरेका छन्। यसैबीच, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलसहितका नेताहरू सम्मिलित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले ओलीले नेतृत्व छाडेर निर्वाचनमा भएको हारको जिम्मेवारी लिनुपर्ने धारणा राख्दै आएको छ। तर कार्यदलको छुट्टै प्रतिवेदन ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत नगरी त्यसका विषयलाई आफ्नै राजनीतिक प्रतिवेदनमा समेटेको बताएका छन्।

प्रतिक्रिया