संगठन विस्तारमा नेकपा, असोज १५ देखि राष्ट्रिय जनअभियान

संगठन विस्तारमा नेकपा, असोज १५ देखि राष्ट्रिय जनअभियान


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले असोज १५ देखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ । मंगलबार बसेको पार्टीको संयोजन समिति बैठकले विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनासँगै संगठन विस्तार र सदस्यता अभियानलाई अघि बढाउने निर्णय गरेको हो ।

अभियानका क्रममा सदस्यता वितरण तथा नवीकरण, संगठन निर्माण र बाँकी संगठनात्मक कामको समायोजनलाई प्राथमिकता दिइने नेकपाले जनाएको छ । अभियानको विस्तृत कार्ययोजना दसैँअघि बस्ने सचिवालय बैठकले पारित गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

पार्टीले रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काममा सक्रिय हुने निर्णय पनि गरेको छ । विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउँदै संगठनात्मक गतिविधिलाई समेत क्रमशः अघि बढाउने नेकपाको तयारी छ ।

त्यस्तै, सरकारका जनविरोधी गतिविधि, बढ्दो महँगी र कुशासनविरुद्धको आन्दोलनलाई पनि राष्ट्रिय जनअभियानसँग जोड्ने निर्णय भएको छ । संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थामाथिका चुनौतीबारे जनस्तरमा अभियान सञ्चालन गर्ने गरी कार्ययोजना बनाइने प्रवक्ता ज्वालाले बताए ।

यसैबीच, नेकपाले अन्य कम्युनिस्ट पार्टी तथा समूहसँग एकता र सहकार्यका लागि देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिले विभिन्न कम्युनिस्ट घटकसँग संवाद अघि बढाउनेछ ।

नेकपाले यसअघि भदौदेखि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन तथा संगठनात्मक गतिविधि अघि बढाउने र मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर बाढीपहिरोका कारण उक्त कार्यतालिका प्रभावित भएको ज्वालाले बताए ।