कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला


इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ ।

बिहीबार साँझ ५ः १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पानीको बहाव बढेसंगै कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ति बालिएको छ, भने रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जानकारी दिए ।

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।