धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बाङ्गेमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खसेर सडक ढाकिएपछि दुवैतर्फको यातायात ठप्प भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौं तथा देशका अन्य जिल्लातर्फ जाने र आउने सवारीसाधन बीचबाटोमै रोकिएका छन् । सडकमा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् ।
स्थानीय प्रशासनका अनुसार लामो समयदेखिको वर्षाका कारण जमिन कमजोर बनेपछि पहिरो खसेको हो । भिरालो भूगोल र यसअघि त्रिशूली नदीमा आएको बाढीका कारण सडकको उक्त क्षेत्र कटानमा परेकाले बाङ्गे पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा पुनः पहिरो खसेपछि सडक खुलाउन थप चुनौती देखिएको प्रशासनले जनाएको छ । पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । थप पहिरो खस्न सक्ने जोखिम रहेकाले उक्त क्षेत्रमा सावधानी अपनाउनसमेत प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया