काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको बताएका छन् । रुसका निरन्तर हवाई आक्रमणबाट जोगिन संघर्ष गरिरहेको युक्रेनका लागि यो लामो समयदेखिको महत्वपूर्ण माग हो ।
‘ठोस सहमति भइसकेको छ,’ जेलेन्स्कीले शुक्रबार पत्रकारहरूसँग भने । ‘हाम्रो पछिल्लो भेटमा राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भन्नुभयो– हो, मैले अन्तिम निर्णय गरिसकेको छु, युक्रेनले प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्ने लाइसेन्स पाउनेछ ।’
यसै साता न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । सो क्रममा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘पेसियन्ट जिरो’ भन्दै उनीसँग आफ्नो गतिविधि विस्तार गर्ने जति धेरै स्वतन्त्रता हुन्छ, विश्वका लागि त्यति नै खतरा बढ्ने बताएका थिए ।
युक्रेनले आफ्नै भूमिमा प्याट्रियट इन्टरसेप्टर उत्पादन गर्न पाउने वा नपाउने विषय केही महिनादेखि चर्चामा छ । प्याट्रियट उन्नत हवाई प्रतिरक्षा प्रणाली हो, जसले रुसबाट हुने निरन्तर ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण रोक्न सहयोग गर्ने युक्रेनको अपेक्षा छ ।
जुलाईमा टर्कीमा भएको नेटो शिखर सम्मेलनका क्रममा ट्रम्पले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्ने अधिकार दिने संकेत गरेका थिए । तर केही सातापछि उनले उक्त प्रस्तावप्रति नरम धारणा राखेका थिए । यसबारे ह्वाइट हाउसको प्रतिक्रिया लिन सीएनएनले सम्पर्क गरेको छ ।
जेलेन्स्कीले अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता आयोजना गर्ने प्रस्ताव पनि वासिङ्टनले गरेको बताएका छन् ।
‘त्रिपक्षीय बैठकका विषयमा अमेरिकी पक्षले वार्ता आयोजना गर्ने प्रस्ताव गरेको छ,’ जेलेन्स्कीले भने । उनका अनुसार वार्ताको मिति भने तय भएको छैन र अमेरिकाले संयुक्त अरब इमिरेट्सलाई सम्भावित स्थानका रूपमा प्रस्ताव गरेको छ ।
‘हामी युरोपेली पक्षलाई जानकारी गराउनेछौँ र उनीहरूसँग यी विषयमा छलफल गर्नेछौँ । अमेरिकीहरूले रुसी पक्षसँग कुरा गर्नेछन् । त्यसपछि १० दिनभित्र हामी विशेष प्रस्ताव र नतिजासहित फेरि छलफलमा फर्किनेछौँ,’ जेलेन्स्कीले भने ।
रुसले भने अहिलेसम्म त्रिपक्षीय वार्तामा सहभागी हुने प्रतिबद्धता जनाएको छैन । उसले यस्तो वार्ता ‘चाँडै’ हुन सक्ने मात्र बताउँदै आएको छ ।
पछिल्लो करिब एक महिनादेखि रुसले युक्रेन, विशेषगरी राजधानी किभलाई लक्षित गर्दै लगातार हवाई आक्रमण गरिरहेको छ ।
किभका मेयरका अनुसार शुक्रबार दिउँसो भएका ड्रोन आक्रमणको शृंखलामा एक किशोरसहित पाँच सर्वसाधारणको मृत्यु भएको छ भने कम्तीमा २७ जना घाइते भएका छन् ।

प्रतिक्रिया