काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज प्रहरीले बिना पक्राउपूर्जी नियन्त्रणमा लियो । माथिको आदेश भन्दै प्रहरीले निवासबाट हठात पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार राणालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको सचिवालयबाटै निर्देशन आएको थियो । पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा केही बताएको छैन ।
प्रधानमन्त्रीको सचिवालयले भने राणाविरूद्ध बलियो प्रमाण रहेको दाबी गरेको छ । स्रोतले भन्यो, ‘सर्वोच्च अदालतमा मुद्धा मिलाउन आर्थिक लेनदेन गरेको प्रमाण प्राप्त भएपछि तत्काल पक्राउको आदेश दिइएको हो ।’
राणाविरूद्ध दुईवटा आरोप रहेको सचिवालय स्रोतको भनाइ छ । पहिलो, अदालतमा चलखेल गरेको र दोस्रो जेनजीहरूलाई सरकारविरूद्ध भड्काएको ।
राणाले अदालतमा नियुक्तिदेखि विचाराधीन मुद्धाहरूमा समेत भित्री चलखेल गरिरहेको आरोप लगाइएको हो । यही सिलसिलामा आर्थिक लेनदेन गरेको प्रमाण सचिवालयमा आइपुगेको दाबी गरिएको छ ।
यस्तै केही जेनजी समूहलाई राणाले सरकारविरूद्ध भड्काएको पनि आरोप छ । स्रोतले यस विषयमा विस्तृत बताएन ।
परिवारका सदस्यले भने राणालाई पक्राउ गर्दा प्रहरीले जेनजीबाट थ्रेट भएकाले सुरक्षित स्थानमा लैजाने लैजाने भनेको बताएका छन् ।

प्रतिक्रिया