अविरल वर्षापछि बाढी–पहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्म प्रभावित

अविरल वर्षापछि बाढी–पहिरोले विद्युत् पूर्वाधारमा ठूलो क्षति, १ हजार ३०३ मेगावाटसम्म प्रभावित


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा विभिन्न प्राविधिक समस्याका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा आपूर्ति प्रभावित भएको छ ।

उपलब्ध विवरणअनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा प्रसारण लाइनमा फाल्ट, उपकरणमा समस्या, बाढी तथा लाइनमा ओभरलोडका कारण विद्युत् प्रणाली प्रभावित भएको हो ।

सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट हुँदा करिब २०० मेगावाट प्रभावित भएको छ । यस्तै, रौघाङ–दाना लाइन–१ र २ मा करिब १५५ मेगावाट प्रभावित भएको विवरणमा उल्लेख छ ।

बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्ति अवरुद्ध भएको छ । पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी विद्युत् क्षमता प्रभावित भएको देखिएको छ ।

रौघाट क्षेत्रमा पनि न्यू बुटवल–कुस्मा २२० केभी प्रसारण लाइनमा फाल्ट हुँदा करिब ११० मेगावाट प्रभावित भएको छ ।

बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढलेर फाल्ट भएको थियो । उक्त लाइन बिहान ९ः५१ बजे चार्ज गरिएको छ ।

चापर–पथलैया १३२ केभी लाइन अवरुद्ध हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गरिएको थियो ।

हेटौंडा क्षेत्रमा पनि बाढीका कारण माण्डु ६६ केभीमा करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको छ । कावासोती–भारतपुर १३२ केभी लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटी (CVT) जलेर समस्या आएको विवरणमा उल्लेख छ ।

त्यस्तै, सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट तथा काम्ने सबस्टेसन र उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ ।

काठमाडौंमा भने पाटन र टेकु सबस्टेसनमा बिहान ९ बजेदेखि ९ः१० बजेसम्म करिब १० मिनेट विद्युत् अवरोध भएको थियो । पाटनमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएको तथा बाढीका कारण एमआरएस इमर्जेन्सी सप्लाई प्रयोग गर्नुपरेको विवरणमा उल्लेख छ ।

विभिन्न सबस्टेसन तथा उद्योगमा समेत लोड कटौती गरिएको छ । कावासोती सबस्टेसनमा २० मेगावाट, हरदी सबस्टेसनमा २५ मेगावाट, सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा ५० मेगावाट र सिमरा सबस्टेसनमा २० मेगावाट लोड कटौती गरिएको छ ।

अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा ८० मेगावाटसम्मको विद्युत् आपूर्ति प्रभावित भएको विवरणमा उल्लेख छ ।

उपलब्ध तालिकामा उल्लेख गरिएका विभिन्न लाइन, लोड तथा उत्पादन अवरोधलाई जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको ‘इन्टरप्सन’ देखिन्छ । तर, यो एउटै समयमा विद्युत् आपूर्ति अवरुद्ध भएको वास्तविक परिमाण नभई फरक–फरक समयमा भएका उत्पादन, प्रसारण तथा लोड अवरोधहरूको योग हो ।

बाढीका कारण प्रसारण लाइन तथा उत्पादन केन्द्रमा समस्या आएपछि लाइन फाल्ट, उपकरणमा क्षति, ओभरलोड र लोड कटौतीजस्ता समस्या देखिएका छन् । विशेषगरी पोखरा–बुटवल २२० केभी करिडोर र पथलैया आसपासका १३२ केभी प्रसारण लाइनमा देखिएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य असर पारेको छ ।