काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन चलिरहेका बेला काठमाडौं–३ मा भने उद्घाटनमै अन्योल देखिएको छ ।
आइतबार दिउँसो १ बजे क्षेत्रीय अधिवेशन उद्घाटन गर्ने तयारी गरिए पनि नेतृत्व चयनको विषयमा आकांक्षीहरूबीच सहमति नजुट्दा निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । क्षेत्रीय नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमै मतभेद देखिएपछि अधिवेशनको प्रक्रिया अन्योलमा परेको हो ।
काठमाडौं–३ मा क्षेत्रीय सभापतिसहित विभिन्न पदमा केही युवा नेताले उम्मेदवारी घोषणा गरेपछि नेतृत्व चयनमा प्रतिस्पर्धा बढेको छ । विशेषगरी आफूलाई ‘जेन्जी पुस्ता’का युवाका रूपमा प्रस्तुत गर्दै आएका नेताहरूले नेतृत्व निर्वाचनबाटै चयन गर्नुपर्ने धारणा अघि सारेका छन् ।
क्षेत्रीय सभापतिका आकांक्षी युवा नेता शिव श्रेष्ठ (शिबु) ले नेतृत्व चयनमा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले निर्वाचनबाट आउने परिणाम स्वीकार गर्ने तर सहमतिको नाममा बन्द कोठाभित्र नेतृत्व चयन गर्ने प्रक्रिया आफूलाई स्वीकार्य नहुने बताएका छन् ।
“लोकतन्त्रमा हार–जित स्वाभाविक हो । निर्वाचन भयो भने परिणाम स्वीकार गर्छु । तर सहमतिको नाममा कोठाभित्र बसेर नेतृत्व तय गर्ने कुरा मान्य हुँदैन,” श्रेष्ठले भने ।
काठमाडौं–३ को अधिवेशनबाट क्षेत्रीय कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत चयन हुनेछन् । यी प्रतिनिधिले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुनेछन् ।
त्यसैले काठमाडौं–३ मा देखिएको नेतृत्व चयनको प्रतिस्पर्धालाई आगामी महाधिवेशनमा प्रतिनिधिहरूको भूमिकाका दृष्टिले पनि चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया