नेपाललाई ३ अर्ब ८३ करोड सहयोग गर्ने यूएईको प्रतिबद्धता

नेपाललाई ३ अर्ब ८३ करोड सहयोग गर्ने यूएईको प्रतिबद्धता


काठमाडौं । जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले थप २५ मिलियन अमेरिकी डलर अर्थात् करिब ३ अर्ब ८३ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यसै विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा शनिबार न्युयोर्कस्थित यूएईको संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री खनालले बाढीबाट प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहानुभूतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

बाढी प्रभावितका लागि यूएईले यसअघि उपलब्ध गराएको मानवीय सहयोगका लागि पनि उनले आभार व्यक्त गरेका छन् । थप २५ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धताप्रति समेत खनालले धन्यवाद दिएका छन् ।

भेटमा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

दुई मन्त्रीबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यका विषयमा समेत विचारविमर्श भएको बताइएको छ ।