तीन विदेशी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

तीन विदेशी नागरिकको हेलिकोप्टरमार्फत उद्धार


हुम्ला । केही दिनअघि परेको अविरल वर्षासँगै आएको हिमपातले नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँमा रोकिएका तीन जना विदेशी पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । असोज ९ गतेदेखि ११ गतेसम्म परेको हिमपातले सडकमा बाक्लो हिउँ जमेर सडक अवरुद्ध हुँदा लिमीको हल्जी गाउँमा रोकिएका पुरुष फाबियन उर्‌लिख, जोनास उर्‌लिख र विल्हेल्म उर्‌लिखलाई उद्धार गरिएको हो ।

हिउँ परेर विदेशी नागरिक आवातजावत गर्न नसक्ने भएपछि बिहिवार दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए ।

विदेशी नागरिकलाई सिम्रिक एयरको ९ ए–एकेडी हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए । उनीहरुलाई हल्जी बाट उद्धार गरि सिमकोट विमानस्थलमा टेकअप गर्दै सुर्खेत लगिएको छ ।