नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटको आरोपमा युक्रेनी नागरिकमाथि जर्मनीमा मुद्दा

नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटको आरोपमा युक्रेनी नागरिकमाथि जर्मनीमा मुद्दा


काठमाडौं । आधुनिक युरोपेली इतिहासकै नाटकीय विध्वंसका घटनामध्ये एक मानिएको घटनाको चार वर्षपछि रुसको नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोट गराएको आरोपमा एक युक्रेनी नागरिकमाथि बुधबार जर्मनीको ह्याम्बर्गमा मुद्दा चल्दैछ ।

जर्मन सरकारी वकिलहरूले ‘सेर्ही के’ भनेर पहिचान गरेका ती व्यक्तिमाथि अन्य युक्रेनी सैन्य अधिकारीहरूसँग मिलेर पाइपलाइन ध्वस्त पार्ने योजना बनाएको आरोप छ । ग्यास बिक्रीबाट हुने आम्दानीमार्फत रुसले आफ्नो युद्धलाई आर्थिक सहयोग गर्न नपाओस् भन्ने उद्देश्यले पाइपलाइन विस्फोट गराइएको आरोप अभियोजन पक्षको छ ।

यो मुद्दा जर्मनीका लागि निकै संवेदनशील छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जर्मनी युक्रेनको निकट सहयोगीमध्ये एक रहँदै आएको छ । आक्रमण सुरु भएको सात महिनापछि अर्थात् सन् २०२२ को सेप्टेम्बरमा पाइपलाइनमा विस्फोट भएको थियो ।

गत वर्ष जर्मनी सुपुर्दगी गरिएका सेर्ही के पाइपलाइन विस्फोटको घटनामा मुद्दा खेप्ने पहिलो शंकास्पद व्यक्ति बन्नेछन् ।

उनले आफूमाथिका आरोप अस्वीकार गरेका छन् । अर्का एक शंकास्पद युक्रेनी नागरिकले पनि आरोप अस्वीकार गरेका छन् । उनी क्रोएसियाबाट जर्मनी सुपुर्दगी हुनबाट जोगिन कानुनी लडाइँ लडिरहेका छन् ।

पाइपलाइन विस्फोटपछि रुसमाथि आशंका

सन् २०२२ सेप्टेम्बर २६ मा बाल्टिक सागरमा बोर्नहोम टापुनजिक विस्फोटक पदार्थ प्रयोग गरी चारमध्ये तीनवटा ग्यास पाइपलाइन ध्वस्त पारिएका थिए । त्यसपछिका महिनामा पश्चिमी देशहरूले रुसमाथि शंका गरे पनि प्रत्यक्ष रूपमा दोष भने लगाएका थिएनन् ।

विस्फोट हुनुभन्दा केही साताअघि नै रुसले नर्ड स्ट्रिम–१ मार्फत जर्मनीमा ग्यास आपूर्ति बन्द गरिसकेको थियो । नर्ड स्ट्रिम–२ भने कहिल्यै सञ्चालनमा आएको थिएन । रुसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा केही समयअघि नै जर्मनीले अर्बौं डलर लागतको उक्त परियोजना स्थगित गरेको थियो । विस्फोट हुनुअघि रुसका नौसैनिक जहाजहरूको गतिविधि शंकास्पद देखिएको खबरसमेत सार्वजनिक भएका थिए ।

स्विडेन, डेनमार्क र जर्मनीका अनुसन्धानकर्ताहरूले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास गरिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र उसका बेलायती सहयोगीमाथि आरोप लगाए । उनले ‘एंग्लो–स्याक्सन’ शक्तिहरूलाई दोष दिएका थिए । तर अमेरिका र बेलायतले उक्त आरोप अस्वीकार गरे ।

अन्ततः डेनमार्क र स्विडेनले आ–आफ्नो अनुसन्धान बन्द गरेपछि जर्मन सरकारी वकिलहरूले गहिरो समुद्रमा डुबुल्की मार्न सक्ने गोताखोरहरूको एउटा समूहमा ध्यान केन्द्रित गरे । उक्त समूहले जर्मनीको उत्तरी बन्दरगाह रोस्टकबाट ‘एन्ड्रोमेडा’ नामको एउटा याट भाडामा लिएको थियो ।

अनुसन्धानकर्ताहरूले पछि उक्त डुङ्गाबाट संकलन गरिएका नमुनामा समुद्रमुनि प्रयोग गरिने विस्फोटक पदार्थका अवशेष फेला परेको बताएका थिए ।

युक्रेनसँगको सम्बन्धमा तनाव उत्पन्न हुन सक्ने भए पनि जर्मन सरकारी वकिलहरूले अनुसन्धानलाई अघि बढाए । सन् २०२५ को जनवरीमा जर्मनीको संघीय न्याय अदालतले उक्त मुद्दा जर्मनीको क्षेत्राधिकारभित्र पर्ने र अभियोजन पक्षले कारबाही अघि बढाउनुपर्ने फैसला गरेको थियो ।

अदालतका अनुसार यो घटना जर्मनीको आन्तरिक सुरक्षालाई कमजोर बनाउने विषयसँग सम्बन्धित थियो ।

युक्रेन संलग्नता अस्वीकार गर्दै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नर्ड स्ट्रिम पाइपलाइन विस्फोटसँग युक्रेनको कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

तर जर्मन सरकारी वकिलहरूले अभियोगपत्रमा पाइपलाइन ध्वस्त पार्ने योजना बनाउने व्यक्तिहरूले ‘युक्रेनी राज्यका निकायहरूको आदेशमा काम गरेको’ आरोप लगाएका छन् ।

अभियोजन पक्षले यो घटनालाई जर्मनीको अन्तर्राष्ट्रिय कानुनविरुद्धका अपराधसम्बन्धी कानुनअन्तर्गत युद्ध अपराधको विषय मानेको छ । उनीहरूका अनुसार नागरिक संरचनामाथि सैन्य माध्यमबाट गरिएको आक्रमणका रूपमा यो घटना युद्ध अपराधको दायरामा पर्छ ।

यो मुद्दाले किएभ र बर्लिनमा यसलाई हेर्ने दृष्टिकोणमा रहेको भिन्नतालाई उजागर गरेको छ ।

युक्रेनी संसद्को विदेश मामिला समितिका अध्यक्ष ओलेक्सान्द्र मेरेझ्कोका अनुसार पाइपलाइन विस्फोट रुससँग युद्ध चलिरहेका बेला भएको थियो । उनका अनुसार ‘नर्ड स्ट्रिम–२ रुसले युद्धको तयारी गर्न प्रयोग गरेको एउटा साधनबाहेक केही थिएन ।’

उनले बीबीसीसँग कुरा गर्दै जर्मन अनुसन्धानकर्ताहरूले प्रस्तुत गरेको विवरणको पुष्टि नभएको बताए । उनले भने, “यो सम्भावित व्याख्यामध्ये एउटा हो ।”

तर जर्मन काउन्सिल अन फरेन रिलेसन्सका स्टेफान माइस्टरले बर्लिनका लगातारका चान्सलरहरूले यस मुद्दाबाट राजनीतिक पक्षलाई अलग राख्न प्रयास गरेको बताएका छन् ।

“उनीहरूले यसलाई ठूलो विषय नबनाउने, अत्यधिक ध्यान नदिने र संस्थाहरू तथा न्यायपालिकालाई यसमा काम गर्न दिने प्रयास गरे । यो राजनीतिक मुद्दा होइन । त्यसैले उनीहरूले यसलाई राजनीतीकरणबाट मुक्त राख्न खोजे,” उनले बताए ।

इटालीमा पक्राउ, जर्मनी सुपुर्दगी

सन् २०२५ को अगस्टमा सेर्ही केलाई इटालीको एड्रियाटिक तटस्थित रिमिनी पर्यटकीय क्षेत्रनजिकको एउटा होटलमा बसेका बेला पक्राउ गरिएको थियो । जर्मनीका संघीय सरकारी वकिलहरूले जारी गरेको युरोपेली पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

सुपुर्दगीविरुद्ध केही साता कानुनी लडाइँ लडेपछि सेर्ही केलाई गत वर्षको अन्त्यतिर जर्मनी पठाइएको थियो । अदालतका कागजातमा उनको नाम सेर्ही कुज्नेत्सोभ उल्लेख गरिएको छ ।

जर्मन सरकारी वकिलहरूका अनुसार सन् २०२२ मा उनी युक्रेनी सेनामा कार्यरत अधिकारी थिए । उनले व्यावसायिक गोताखोरहरू, डुङ्गाका कप्तान र विस्फोटक पदार्थका विशेषज्ञ सम्मिलित समूहको नेतृत्व गरेका थिए ।

सेर्ही के इटालीमा सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहेका बेला भोलोदिमिर झुराभलोभ नामका अर्का युक्रेनी नागरिकले पोल्यान्डको अदालतमा जर्मनीको सुपुर्दगी प्रयासविरुद्ध सफलता हासिल गरेका थिए ।

इटालीको सर्वोच्च अदालतको फैसलाभन्दा फरक निर्णय गर्दै पोल्यान्डका न्यायाधीशले सन् २०२५ को अक्टोबरमा झुराभलोभलाई रिहा गर्न आदेश दिएका थिए ।

न्यायाधीशले पाइपलाइनमाथिको आक्रमण गैरकानुनी नभएको उल्लेख गर्दै युक्रेनले सशस्त्र अभियान सञ्चालन गरेको भए पनि त्यो ‘उचित, तर्कसंगत र न्यायोचित’ हुने बताएका थिए ।

वार्साको अदालतबाट रिहा भएका झुराभलोभलाई गत अगस्टमा क्रोएसियामा पक्राउ गरिएको थियो । पाइपलाइन विस्फोट गराउन आवश्यक डुबुल्की लगाउने कार्यमा उनी ‘संलग्न रहेको’ आशंकामा पक्राउ गरिएको बताइएको छ ।

गत महिना क्रोएसियाले उनलाई जर्मनी सुपुर्दगी गर्न स्वीकृति दिएको थियो । यद्यपि, उनलाई कहिले जर्मनी पठाइने भन्ने स्पष्ट भइसकेको छैन । साथै, उनको मुद्दा ह्याम्बर्गमा चलिरहेको मुद्दासँग जोडिने हो वा होइन भन्ने पनि निश्चित छैन ।

किएभ र बर्लिन दुवैका लागि यो मुद्दा संवेदनशील भए पनि युक्रेनी सांसद मेरेझ्कोले यसले दुई देशबीचको सम्बन्ध बिगार्ने विश्वास गर्दैनन् । उनका अनुसार, “युक्रेनलाई निरन्तर सहयोग गरिरहनु जर्मनीको आफ्नै राष्ट्रिय हितमा छ ।”