प्रस्तावित राजदूत सुनारका आपत्तिजनक शब्द रेकर्डबाट हटाउन निर्देशन

प्रस्तावित राजदूत सुनारका आपत्तिजनक शब्द रेकर्डबाट हटाउन निर्देशन


काठमाडौं ।साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको संसदीय सुनुवाइका क्रममा उनले बोलेका आपत्तिजनक शब्द रेकर्डबाट हटाउन समिति सभापतिले निर्देशन दिएका छन्।  बुधबार संसदीय सुनुवाइ समितिमा सुनारको सुनुवाइका क्रममा सांसदहरूले उनमाथि आर्थिक अनियमितता र महिला हिंसासम्बन्धी प्रश्न उठाएका थिए। त्यसको जवाफ दिने क्रममा सुनारले ‘ल्याङ हान्न आएको’ शब्द प्रयोग गरेपछि समिति सभापति बोधनारायण श्रेष्ठले उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
सुनारले ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ उल्लेख गर्दै “१३ वर्षपछि कामीको छोरालाई ल्याङ गर्न किन आइ? ” भनेका थिए। सभापति श्रेष्ठले तुरुन्तै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आदेश दिएका छन्।

यसअघि सुनुवाइमा सांसदहरूले सुनारमाथि विवाहेत्तर सम्बन्ध, घरेलु हिंसा, ललितपुर प्रहरीमा मिलापत्र, आर्थिक अपचलन र जर्मनीबाट डिपोर्ट भएको आरोप लगाएका थिए। सुनारले ती आरोप अस्वीकार गर्दै आफू महिला हिंसाविरुद्ध जनचेतना फैलाउने व्यक्ति भएको दाबी गरेका थिए। समितिले सुनारविरुद्धका उजुरीबारे थप छानबिन अघि बढाएको छ।