काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले संसद्को हालै सम्पन्न बर्खे अधिवेशन कानुन निर्माणका दृष्टिले पूर्ण रूपमा असफल र अप्रभावकारी बनेको आरोप लगाएकी छन्।
संसद्को कार्यसम्पादनबारे समीक्षा गर्दै प्रमुख सचेतक ओलीले जनताका जीवन्त समस्या र मुलुकका लागि आवश्यक महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने अधिवेशनलाई सरकारले कर्मकाण्डी मात्र बनाएको बताइन्।
संसद्लाई विधेयक निर्माण गर्ने थलोभन्दा पनि प्रमुख दलहरूले राजनीतिक दाउपेच, आरोप(प्रत्यारोप र भाषणबाजी गर्ने मञ्च बनाएको उनको भनाइ छ।
सरकारको अपरिपक्वता र सदन सञ्चालनमा देखिएको उदासीनताका कारण कयौँ जनसरोकारका विधेयकहरू अलपत्र परेको भन्दै उनले आगामी अधिवेशनमा यस्तो गैरजिम्मेवार शैली दोहोरिन नदिने चेतावनीसमेत दिएकी छन्।

प्रतिक्रिया