रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ भने तीन जना बेपत्ता छन् । दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन् । उनीहरू दशैँ मनाउन घर जाँदै थिए ।
दुर्घटनामा घाइते भएकामध्ये चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यस्तै, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अन्य घाइतेमा सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा छन् । उनीहरूसहित अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि बेपत्ता भएका तीन जनाको खोजी जारी छ । उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको सिन्धुली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुमो राति ११ बजे काठमाडौंबाट खोटाङका लागि छुटेको थियो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया