सल्यान ।
सल्यानमा स्क्रब टाइफस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार असोज २८ गते गरिएको परीक्षणमा मल्लमा स्क्रब टाइफस पुष्टि भएको थियो। सुरुवातमा जिल्ला अस्पतालबाट घर फर्किएका उनलाई पछि श्वासप्रश्वासमा समस्या देखिएपछि दाङको घोराही हुँदै थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म ८ सय १७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको यो संक्रमणबाट सबैभन्दा बढी दार्मा गाउँपालिका प्रभावित भएको छ, जहाँ २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागचौर नगरपालिकामा २ सय ४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ। यसैगरी बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यो रोग संक्रमित ‘माइट’ ९एक प्रकारको किरा० को टोकाइबाट सर्ने भएकाले घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउन, बुट तथा पञ्जा प्रयोग गर्न र घरवरपरका झाडी सफा राख्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। ज्वरो आउने, टाउको र शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउनसमेत चिकित्सकहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया