एनपीएल खेल्न आएका सात पाकिस्तानी खेलाडी फर्कने तयारीमा

एनपीएल खेल्न आएका सात पाकिस्तानी खेलाडी फर्कने तयारीमा

एनपीएल सुरु हुनै लाग्दा पीसीबीले माग्यो प्रतिखेलाडी २५ हजार डलर अतिरिक्त शुल्क


काठमाडौं ।

आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीहरूको सहभागिता नहुने सम्भावना बढेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तिम समयमा अघि सारेको एउटा विवादास्पद शर्तका कारण पाकिस्तानी खेलाडीहरूले एनपीएल खेल्न नपाउने अवस्था सिर्जना भएको हो।

पीसीबीले एनपीएलमा सहभागी हुन आएका आफ्ना खेलाडीका लागि प्रतिखेलाडी २५ हजार अमेरिकी डलर (नेपाली रुपैयाँ करिब ३५ लाखभन्दा बढी )  अतिरिक्त रकम माग गरेको छ। अनुबन्ध भइसकेका र एनओसी (नो अब्जेक्सन लेटर) समेत लिइसकेका खेलाडीका लागि प्रतियोगिता सुरु हुने मुखैमा यति ठूलो रकम मागिएपछि नेपाल क्रिकेट संघ (क्यान) र सम्बन्धित फ्रेन्चाइजहरू समस्यामा परेका छन्।

क्यानका सचिव पारस खड्काले पीसीबीको यो माग फ्रेन्चाइजहरूका लागि पूरा गर्न गाह्रो हुने टिप्पणी गरेका छन्। उनले भने, “उहाँहरूले २५ हजार डलर माग्नुभएको छ। धेरै खेलाडी एनओसी लिएर नेपाल आइसक्नुभएको थियो। अन्तिम क्षणमा यस्तो किन गरियो, हामीले पनि बुझ्न सकेका छैनौँ। अब यस विषयमा निर्णय गर्ने जिम्मेवारी सम्बन्धित फ्रेन्चाइजहरूलाई नै दिइएको छ।”

खड्काका अनुसार एनओसी होल्ड भएको अवस्थामा आएका खेलाडीहरू पनि फर्किनुपर्ने हुन्छ र यसपटकको एनपीएलमा पाकिस्तानी खेलाडीहरूको सहभागिताको सम्भावना निकै कम छ।    तयारी र बजेट पहिल्यै तय भइसकेको अवस्थामा थप आर्थिक सर्त अघि सारिनु व्यावसायिक आचरणविपरीत रहेको एक फ्रेन्चाइज मालिकले बताएका छन्। अन्य कुनै पनि देशका क्रिकेट बोर्डले यस्तो अतिरिक्त शुल्क नमागेकाले अब फ्रेन्चाइजहरूले अन्य देशका प्रतिस्थापन (रिप्लेसमेन्ट) खेलाडीहरूको खोजी गर्ने भएका छन्।

यसपटकको एनपीएलमा चारवटा फ्रेन्चाइजमा गरी सात जना पाकिस्तानी खेलाडी अनुबन्ध भएका थिए। जसअन्तर्गत कर्णाली याक्समा साहिबजादा फरहान र हुसेन तलात, जनकपुर बोल्ट्समा इफ्तिखार अहमद र हुनैन शाह, चितवन राइनोजमा हसन अली र उसामा मिर तथा सुदूरपश्चिम रोयल्समा हैदर अली रहेका छन्।