सुदूरपश्चिम रोयल्सको पहिलो जित

सुदूरपश्चिम रोयल्सको पहिलो जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । रोयल्स पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराको भने यो पहिलो हार हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । इशान पाण्डेले ३१ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन जोडे ।

ब्रान्डन म्याकमुलनले १२ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए । साइफ जैबले १६ बलमा १५ रन जोडे भने विनोद भण्डारीले दुई बलमा चार रन बनाए र शेर्फेन रदरफोर्डले ८ रन जोडे ।

सुदूरपश्चिमले अतिरिक्तबाट ११ रन पायो ।

पोखरा एभेन्जर्सका लागि शाकिब अल हसनले ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए । धनञ्जय लक्षणले दुई ओभरमा १७ रन दिएर एक विकेट हात पारे ।

महेदी हसनले ४ ओभरमा २२ रन खर्चिएर एक विकेट लिए भने विपिन खत्रीले दुई ओभरमा २२ रन दिए । कुशल भुर्तेलले दुई ओभरमा १५ रन खर्चिए । प्रतीक पोखरेलले एक ओभरमा १० र आकाश चन्दले एक ओभरमा १२ रन दिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

पोखरा एभेन्जर्सका महेदी हसनले ३२ रन बनाए । महेदीले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाए ।

पोखराका कप्तान कुशल भुर्तेलले १७ बलमा दुई चौकासहित २१ रन जोडे । अर्जुन घर्तीले २५ बलमा ४० रन बनाए ।

धनञ्जय लक्षण १६ बलमा ११ रन बनाएर आउट भए । शाकिब अल हसनले १६ बलमा १४ रन बनाए भने सदीरा समरविक्रमाले नौ बलमा आठ रन जोडे । ओपनर दिनेश खरेल सात बलमा चार रन बनाएर आउट भए ।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले तीन ओभरमा १४ रन दिएर एक विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले चार ओभरमा २१ रन खर्चेर एक विकेट हात पारे ।

स्कट कुगेलाइनले ४९ रन खर्चिएर विकेट लिए । साइफ जैबले दुई ओभरमा १३, र इशान पाण्डेले एक ओभरमा आठ रन दिए ।