पार्टीभन्दा माथि देश, भाषणभन्दा माथि काम: विश्व प्रकाश शर्मा

पार्टीभन्दा माथि देश, भाषणभन्दा माथि काम: विश्व प्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्व प्रकाश शर्माले शपथ ग्रहण समारोहमा आफ्नै पार्टीका केन्द्रीय सदस्य र शीर्ष नेतृत्वलाई कडा चेतावनी दिँदै ‘पार्टी र सत्ताभन्दा पहिले देश’ भन्ने सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने स्पष्ट पारेका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित समारोहमा शपथ लिइरहँदा काङ्ग्रेसी मनोविज्ञान मात्र होइन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्न उनले कडा शब्दमा निर्देशन दिएका हुन्।

राजनीतिक भागबण्डा, आन्तरिक गुटबन्दी र दलीय स्वार्थका कारण मुलुक सङ्कटमा परेको स्वीकार गर्दै शर्माले सानेपाको शपथ केवल औपचारिक नाटक बन्न नहुने बताए। कांग्रेस रुपान्तरणको मुख्य सर्त नै देश र जनताको हित पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले सत्ता र शक्तिभन्दा माथि उठेर काम नगरे जनताले पार्टीलाई सधैंका लागि पन्छाउने तीतो यथार्थ स्मरण गराएका छन्।