काठमाडौं । अमेरिकाका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पले द वालस्ट्रिट जर्नल विरुद्ध दायर गरेको १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज गरिदिएका छन् । न्यायाधीशले ट्रम्पको मुद्दा ‘आधारहीन तर्कको सहारा लिएर अघि बढाइएको’ टिप्पणी गरेका छन् ।
सन् २००३ मा यौन अपराधमा दोषी ठहरिएका वित्तीय कारोबारी जेफ्री एपस्टिनको जन्मदिनका अवसरमा तयार पारिएको पुस्तकमा ट्रम्पले लेखेको भनिएको एउटा पत्र प्रकाशित गरेपछि उनले गत वर्ष सञ्चारमाध्यमविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त पत्र एपस्टिनमाथि यौन अपराधको आरोप लाग्नुअघि लेखिएको बताइएको थियो ।
ट्रम्पले उक्त पत्र आफूले नलेखेको र त्यसमा हस्ताक्षरसमेत नगरेको दाबी गर्दै आएका छन् । पत्रमा दोहोरो अर्थ लाग्ने भाषा र महिलाको शरीरको बाहिरी आकृति बनाइएको चित्र रहेको बताइएको छ ।
न्यायाधीश ड्यारिन गेल्सले अमेरिकी संविधानको पहिलो संशोधनविपरीत रहेको ठहर गर्दै मुद्दा खारेज गरेका हुन् । अमेरिकी संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रताको संरक्षण गर्छ ।
यसअघि पनि गेल्सले मानहानिसम्बन्धी उक्त मुद्दा खारेज गरेका थिए । त्यतिबेला ट्रम्पले २० अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए । ट्रम्पको कानुनी टोलीले पुनः १० अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको थियो । यसपटक भने न्यायाधीशले मुद्दा ‘प्रिजुडिस’ सहित खारेज गरेका छन् । यसको अर्थ अब यही विषयमा पुनः मुद्दा दायर गर्न पाइने छैन ।
एपस्टिनको ५०औँ जन्मदिनका अवसरमा तयार पारिएको पुस्तक र त्यसमा ट्रम्पको नाम उल्लेख भएको पत्रबारे वालस्ट्रिट जर्नलले समाचार प्रकाशित गरेको थियो । उक्त समाचार सार्वजनिक हुँदा एपस्टिनसम्बन्धी दस्तावेज व्यवस्थापन गरेको विषयमा ट्रम्प प्रशासनले गर्मीयाममा दुवै प्रमुख राजनीतिक दलबाट चर्को आलोचना खेपिरहेको थियो ।
ट्रम्पले उक्त समाचार प्रकाशित गरेर अखबारले आफ्नो मानहानि गरेको र मानहानिसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाएका थिए ।
न्यायाधीश गेल्सले २० पृष्ठ लामो फैसलामा समाचार तयार पार्न अखबारले गरेको ‘गहन र विस्तृत अनुसन्धान’ को उल्लेख गरेका छन् । उनले अखबारको अनुसन्धानमा कमजोरी देखाउन जबर्जस्ती आधार खोज्ने प्रयासका रूपमा ट्रम्पको मुद्दालाई व्याख्या गरेका छन् ।
गेल्सका अनुसार ट्रम्पको कानुनी टोलीले प्रतिवादीहरूले ‘वास्तविक दुर्भावना’ राखेर मानहानिजनक अभिव्यक्ति दिएको प्रमाणित गर्न सकेन । कानुनअनुसार मानहानिको मुद्दामा यस्तो दुर्भावना प्रमाणित गर्नु आवश्यक हुन्छ ।
‘वास्तविक दुर्भावना’ प्रमाणित गर्न सजिलो हुँदैन । यसका लागि प्रतिवादीले आफूले प्रकाशित गरेको मानहानिजनक सामग्री झुटो हो भन्ने थाहा हुँदाहुँदै प्रकाशित गरेको वा त्यसको सत्यताबारे लापरबाहीपूर्ण बेवास्ता गरेको प्रमाणित गर्नुपर्छ ।
ट्रम्पले वालस्ट्रिट जर्नलले प्राप्त गरी सार्वजनिक गरेको पत्र नक्कली भएको आरोप लगाएका थिए । पत्रको अन्त्यमा उनको हस्ताक्षर रहेको देखिन्छ । प्रतिवादीहरूले आफ्नो मानहानि गर्ने उद्देश्यले योजनाबद्ध रूपमा उक्त समाचार तयार पारेको उनको दाबी थियो ।
गेल्सका अनुसार ट्रम्पको कानुनी टोलीले अखबारले पत्रबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा ट्रम्पले आफूले पत्र नलेखेको बताएका कारण पत्रकारहरूले आफ्नो अनुसन्धानबाट प्राप्त अन्य सबै तथ्यलाई बेवास्ता गर्नुपर्ने र समाचार प्रकाशित गर्न नहुने तर्क गरेको थियो ।
तर, गेल्सले फैसलामा लेखेका छन्, ‘वास्तविक दुर्भावनासम्बन्धी कानुनी मापदण्डले यस्तो माग गर्दैन । यस्तो तर्क अमेरिकी संविधानको पहिलो संशोधनको भावनाविपरीत छ ।’
यदि कानुन त्यस्तो हुने हो भने कुनै पनि सार्वजनिक व्यक्तित्व वा उनको टोलीले आरोप अस्वीकार गर्नेबित्तिकै पत्रकारहरूलाई त्यसबारे नकारात्मक वा विरोधाभासपूर्ण समाचार प्रकाशित गर्न रोक लगाइने अवस्था आउने न्यायाधीशले उल्लेख गरेका छन् ।
उनले यस्तो परिणामले ‘आफ्नो विचार अभिव्यक्त गर्ने अमेरिकी नागरिकको अधिकार’ को मर्ममाथि प्रहार गर्ने बताएका छन् ।
वालस्ट्रिट जर्नलको समाचारअनुसार ट्रम्पको नाम उल्लेख भएको उक्त पत्रमा टाइप गरिएका केही पङ्क्ति थिए । ती पङ्क्तिको वरिपरि नाङ्गो महिलाको आकृति बनाइएको थियो, जुन बाक्लो मार्करले हातैले कोरिएको जस्तो देखिन्थ्यो ।
पत्रमा ‘रहस्यहरू कहिल्यै बूढा हुँदैनन्’ भन्ने व्यङ्ग्यात्मक सन्दर्भ उल्लेख गरिएको बताइएको छ । पत्रको अन्त्यमा यस्तो लेखिएको समाचारमा जनाइएको छ : ‘एक साथी हुनु अद्भुत कुरा हो । जन्मदिनको शुभकामना र हरेक दिन अर्को एउटा अद्भुत रहस्य बनोस् ।’

प्रतिक्रिया