कर्णाली ।
भारी हिमपातका कारण हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा अलपत्र परेका छ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार कार्य सुरु गरिएको छ।
शे–फोक्सुण्डो तालको सफल अवलोकनपश्चात् स्थानीय प्रशासनको रोक र चेतावनीलाई बेवास्ता गर्दै माथिल्लो डोल्पाको कठिन यात्रामा निस्किएका उनीहरू केही दिनदेखि जारी निरन्तर हिमपातका कारण बीच बाटोमै फसेका हुन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार अलपत्र पर्ने भारतीय पर्यटकहरूमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन्।
मौसममा आएको तीव्र बदलाव र हिमपातका कारण सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भए तापनि पर्यटकहरू हाल सुरक्षित स्थानमा रहेको र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको टोलीसँग सम्पर्कमा रहेको प्रशासनले जनाएको छ।
“अहिले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उद्धार गर्ने प्रक्रिया अघि बढाइएको छ,” प्रमुख जिल्ला अधिकारी ढकालले भनिन्, “सञ्चार टावर नहुँदा सिधा फोन सम्पर्क हुन सकेको छैन, तर निकुञ्ज सुरक्षामा खटिएको सेनाको टोलीसँग उनीहरू सुरक्षित छन्।”
मौसम प्रतिकूल हुने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यही कात्तिक १२ गतेदेखि नै माथिल्लो डोल्पाका पदमार्गहरूमा पर्यटक जाने कार्यमा रोक लगाएको थियो। तर नियमको बेवास्ता गर्दै जोखिमपूर्ण यात्रामा निस्किएका कारण पर्यटकहरू हिमपातमा फसेका हुन्।
बदलिँदो मौसम र हिमपातको जोखिमलाई दृष्टिगत गर्दै उच्च हिमाली तथा पदयात्रा क्षेत्रमा रहेका सम्पूर्ण पर्यटक, गाइड तथा सर्वसाधारणलाई उच्च सजगता, सतर्कता र सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय डोल्पाले आग्रह गरेको छ।

प्रतिक्रिया