‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

‘नियममा चल्छु भन्ने हो भने जनताको काम गर्न सकिँदैन’

अल्पमतमा छु, तर सबैलाई मिलाएर हिँड्दै छु : मेयर खाण


गण्डकी प्रदेशको स्याङ्जा जस्तो पहाडी भेगमा पनि तराईको अनुभूति गराउने पालिका हो- चापाकोट नगरपालिका । चारैतिर पहाडले घेरिएको चापाकोटको अधिकांश भूभाग समथर छ । यहाँ सिजनमा तराईको जस्तै, लिची, आँप र कटहर लटरम्मै फलेको देख्न पाइन्छ ।

सम्भावनाले भरिपूर्ण यो पालिका आधारभूत पूर्वाधार संरचनाको अभावले गर्दा विकासको फड्को मार्न सकिरहेको छैन । विनियोजन भएको बजेटको ठुलो हिस्सा तलब, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा छुट्याउनुपर्ने बाध्यताले पनि विकासमा सोचेअनुरुप काम हुन नसकेको यहाँका पालिका प्रमुख देवबहादुर खाणको दुःखेसो छ ।

‘गाउँको सरकार’को यो नयाँ अंकमा चापाकोट नगरपालिकाको समग्र अवस्था र भावी योजनाका विषयमा केन्द्रित रहेर उनै खाणसँग कुराकानी गर्ने प्रयास गरेका छौँ ।

प्रस्तुत छ सहकर्मी कृष्ण उप्रेतीले खाणसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः

मेयरमा निर्वाचित भएसँगै पालिकाको अभिभावकका रूपमा रहेर काम गर्न कत्तिको सहज हुँदोरहेछ ? अनुभव सुनौँ न ।

पार्टीगत हिसाबमा भन्ने हो भने म नेपाली कांग्रेससँग आस्था राख्ने व्यक्ति हुँ । विगत लामो समयदेखि पार्टीमा सक्रिय भएर काम गर्दै आएको हुँ । मेयरका रूपमा नयाँ अनुभव लिँदैछु ।

तर, पार्टीमा रहेर काम गर्नु र जनप्रतिनिधि भएर जनताका लागि काम गर्नुमा धेरै नै फरक हुँदो रहेछ । पार्टीमा काम गर्दा त्यही पार्टीकै लागि मात्र काम गरिन्थ्यो । तर, मेयर भइसकेपछि त पालिकाको साझा व्यक्तिका रूपमा काम गर्नुपर्‍यो नि ! जनताका इच्छालाई नै आफ्नो कर्तव्य बनाउनुपर्‍यो ।

अब हेर्नुस्, हाम्रो पालिकाको बजेट पनि त्यति धेरै छैन । यस पटक जम्मा ७० करोडको बजेट ल्यायौँ । त्यसको अधिकांश हिस्सा त शिक्षक, कर्मचारीको तलबमै जान्छ । सबै क्षेत्रमा पुर्‍याउनैपर्‍यो । समाजिक सुरक्षा भत्तामा मात्रै १८ करोड रुपैयाँ जान्छ ।

अब यस्तो अवस्थामा विकास गर्ने बजेटचाहिँ कहाँबाट ल्याउने ? यसो हेर्दा १०-१२ करोडमा विकासका काम गर्नुपर्ने छ । सडक, कृषि, विद्यालय भवन, अन्य पूर्वाधार सबै यही पैसामा बनाउनु पर्नेछ । यो सम्भव छ त ? यो एउटा जटिल समस्या पनि हो ।

बितेका १५ महिनामा जनताका लागि के गर्नुभयो र के गर्न सकेँ जस्तो लाग्छ ?

अब यो मेरो १५ महिने कार्यकालमा सकेसम्म सबै नगरबासीको चाहनाबमोजिम निष्पक्ष रूपमा काम गरेँ भन्ने लाग्छ । जनताको इच्छा, आकांक्षा बढी छ । तर, हाम्रो स्रोत-साधन कम छ । यसले गर्दा चाहिँ काम गर्न अलि अप्ठ्यारो भएको अनुभव छ ।

यति हुँदाहुँदै पनि हामीले केही राम्रा काम सुरु गरेका छौँ । यो चापाकोट नगरपालिका सम्भावनाले भरिएको पालिका हो । कृषिको अपार सम्भावना बोकेको पालिका पनि हो यो । यो एउटा उपत्यका हो । जिल्ला स्याङ्जा भए पनि यहाँ तराईको जस्तो गर्मी हुन्छ ।

यहाँ आँप, लिची, कटहर जस्ता फलफूल उत्पादन हुने अनुकूल मौसम छ । यसैलाई मध्यनजर गर्दै हामीले यो वर्ष ३० हजार आँप र लिचीका बिरुवा किसानलाई बाँड्यौँ । अबको २ वर्षमा आँप र लिचीका लागि गण्डकी प्रदेशकै हबका रूपमा चापाकोटलाई स्थापित गर्ने लक्ष्य छ । साथै, यसले यहाँको वैदेशिक रोजगारीको लहडलाई पनि कम गर्न मद्दत पुग्छ भन्ने अपेक्षा लिएका छौँ ।

त्यस्तै, विकास निर्माणका कामहरू पनि चलिरहेका छन् । अघिल्लो कार्यकालका मेयर, स्व. शिव गिरीज्यूले सुरु गरेका र अघि सारेका योजनाहरूले निरन्तरता पाइरहेका छन् भने कतिपय आयोजना सम्पन्न भएका छन् । सामुदायिक भवन, खेल मैदान, सडक निर्माण जस्ता योजनाहरू सम्पन्न हुने क्रममा छन् ।

अहिले चापाकोट नगरपालिकाको मातहतमा रहेको सम्पूर्ण सडक क्षेत्रको किनारमा हामीले वृक्षरोपणको कामलाई पनि अघि बढाएका छौँ । अहिलेसम्म अमला, पारिजात जस्ता ५ हजार बिरुवा रोपिसकेका छौँ ।
साथै, भर्खर हामीले सबै वडामा स्वास्थ्य शिविर चलाएका थियौँ । यसबाट पालिकाका ४ हजार नागरिकले प्रत्यक्ष रूपमा सेवा लिए । यो पनि एउटा उपलब्धि नै हो भन्नुपर्छ ।

तपाईँ पालिकाको कार्यपालिकादेखि नगरसभासम्म अल्पमतमै हुनुहुन्छ । यस्तो अवस्थामा फरक विचार र फरक राजनीतिक आस्था भएकाहरूसँग पालिकाको सामाजिकदेखि विकासका काम गर्ने क्रममा कस्ता समस्याहरू भोग्नुभएको छ ?

यो भनेको चाहिँ आफूमा भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई । अब पालिकाको बागडोर लिइसकेपछि यो र त्यो अनि समस्या नै समस्या भनेर पन्छिन मिल्दैन ।

सबै मिलाएर जान सक्नुपर्छ । यो एमाले, त्यो माओवादी भनेर पार्टीगत रूपमा मैले कसैलाई हेर्न मिल्दैन । सबैको चित्त बुझाएरै अघि बढ्न सक्नुपर्छ । मैले पनि अहिलेसम्म यही नै गर्दै आएको छु ।

अहिलेसम्म हाम्रो नगरपालिकामा ३ वटा नगरसभा भए । अब सभामा छलफल गर्दा कतिपय विषयमा साथीहरूले असन्तुष्टि पोख्नुहुन्छ । त्यस्ता असन्तुष्टिहरूलाई सम्झाइबुझाइ अघि बढिएको छ । यसरी हेर्दा खासै समस्या भोगिएको छैन नै भन्नुपर्ला ।

धेरैजसो स्थानीय तहमा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच जुहारी चलेको देखिन्छ । तपाईंको पालिकामा चाहिँ कस्तो छ अवस्था ? अनि पर्याप्त कर्मचारी छन् ?

कार्यकालको सुरुका ६ महिना जति त मैले प्रमुख प्रशासकीय अधिकृत नै पाइनँ । यहाँ कोही आउनै मान्दैनथे । त्यसताका त निकै समस्या परेको थियो । तर, अहिले ध्रुव खनाल सर आएपछि कुनै समस्या छैन ।

टसलको विषयमा भन्ने हो भने उहाँ र म स्थानीय सरकार सञ्चालन ऐनअनुसार चल्ने हो । नियम कानुनको पालना गर्दै हिँड्ने हो भने समस्या नै पर्दैन नि ! उहाँ आफ्नो काम गर्नुहुन्छ म आफ्नो ।

काम गर्दै गर्दा कानुन, व्यवहार जस्ता कुराले कहीँ कतै अवरोध पुर्‍याएका छन् ?

हेर्नुस् अब नीति, नियम र कानुनको मात्र परिधिमा बस्ने हो भने जनताको काम गर्न सकिँदैन । मैले यो खुला रूपमा तपाईँलाई नढाँटी भनेको हो । जनता विभिन्न समस्या बोकेर यहाँ आउँछन् । त्यस्ता समस्यालाई कानुनी रूपमा मात्र हेरेर हुँदैन । व्यावहारिक पनि हुनुपर्छ ।

काम गरिरहँदा मैले थाहा पाएको एउटा विषय भनेको चाहिँ ‘सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस्’ भन्ने तरिका अपनाउनुपर्ने रहेछ । जे होस् जनताका काम र समस्या समाधान गर्दा कानुनी अड्चनलाई परै राखेर गर्न सक्नु नै ठुलो कुरा हो ।

तर, कहिलेकाहीँ पालिकाको प्रमुखको हैसियतमा बसिरहँदा र जनताका दुःख देख्दा नरमाइलो लाग्छ । यो चापाकोट नगरपालिका संघीय संरचनामा जाँदा बनेको नगरपालिका हो । गाउँगाउँमा सिंहदरबारको नारा लगाउँदै अब सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भनेर फुक्दै हिँडे ।

तर, मैले त्यसो भएको अनुभवचाहिँ गरेको छैन । नगरपालिकाले जुन अधिकार पाउनुपर्ने हो, त्यो अधिकार अझै पाउन सकेका छैनन् ।

म तपाईँलाई प्रश्न गर्छु- नगरपालिका भनेको के हो ? यसको परिभाषा सायद तपाईँलाई थाहा होला । शिक्षा, स्वास्थ्य, यातायात, खेलकुद, खानेपानी जस्ता आधारभूत कुराको व्यवस्था भएको स्थानलाई नगरपालिका बनाउने होला नि ! तर, यो चापाकोटमा ती आधारभुत पूर्वाधार पनि छैनन् ।

मेयर सा’ब, अन्त्यमा अब बाँकी कार्यकालमा पालिकाका लागि यो चाहिँ गरेरै छाड्छु भन्ने त्यस्ता केही योजना छन् भने बताइदिनुहोस् न ।

मलाई त्यति धेरै ठुला गफ गर्न आउँदैन हेर्नुस् । मेरो बाँकी कार्यकालमा ३/४ वटा काम गर्न मन छ । पहिलो भनेको सबै वडा कार्यालयदेखि नगरपालिका केन्द्रसम्म जोड्ने बाटो पिच गर्ने । दोस्रो भनेको पालिकामा कमसेकम एउटा १५ शय्याको अस्पताल निर्माण गर्ने लक्ष्य छ ।

शिक्षा क्षेत्रको सुधार पनि मैले सूचीमा राखेको छु । त्यसका लागि आगामी शैक्षिक सत्रभित्र चापाकोटमा कृषि क्याम्पस सञ्चालन गर्ने हाम्रो तयारी छ । त्योचाहिँ म जसरी पनि गरेरै छाड्छु ।

अहिले हामीले पालिकाभित्रका गर्भवती महिलाका लागि एउटा फरक कार्यक्रम पनि ल्याएका छौँ । यदि गर्भवती महिलालाई पालिकाको स्वास्थ्य चौकीले पालिकाभन्दा बाहिर पोखरा, काठमाडौँलगायत जहाँ रिफर गरे पनि उनीहरूको सम्पूर्ण उपचार खर्च पालिकाले नै बेहोरिदिने छ । यो कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ ।

एउटा अर्को पनि चाहना छ । त्यो भनेको पालिकालाई आँप र लिचीको जोन बनाउने । त्यो पनि बनाएरै छाड्छु । मेरो कार्यकालको अन्त्यमा चापाकोटमा आउनुभयो भने कमसेकम यति चाहिँ तपाईँले देख्न सक्नुहुन्छ ।

गाउँकाे सरकार शृंखलाः

गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !

‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’

‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

‘सूर्योदयको विकासमा हन्ड्रेड पर्सेन्ट इफोर्ट लगाउँछौँ’