मधेस प्रदेशका धेरैजसो पालिका आन्तरिक विवाद र अनियमितताको शृंखलामा अल्झिरहेका बेला सर्लाहीको बागमती नगरपालिका भने विकास निर्माणका कामले सधैँ चर्चामा आइरहन्छ ।
जनप्रतिनिधिले आफ्नो गाडी किन्ने रकमबाट पानी ट्यांकर किनेर काकाकुल जनतालाई पानी खुवाएको समाचार सेलाउन नपाउँदै १२१ बिघा क्षेत्रफलमा ताल बनाएर सबैको ध्यान तानेको बागमती नगरपालिका केन्द्र सरकारले नसकेको सुकुमबासी व्यवस्थापनमा पनि अब्बल सावित भएको छ ।
संघ र प्रदेश सरकारसँग हात फैलाउनुनपर्ने अवस्थाको निर्माण नै आफ्नो अन्तिम लक्ष्य भएको यहाँकी उपप्रमुख लीलाकुमारी मोक्तान बताउँछिन् । न्याय सम्पादनको विषयमा स्थानीयबाटै सम्मानित भएकी उनै मोक्तानलाई ‘गाउँको सरकार’को नयाँ अंकमा छानेका छौँ । मोक्तानसँग गरिएको कुराकानीमार्फत हामीले पालिकाको समग्र तस्बिर चित्रण गर्ने प्रयत्न गरेका छौँ ।
सहकर्मी कृष्ण उप्रेतीले उपप्रमुख मोक्तानसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः
बागमती नगरपालिकामा तपाईँको यो दोस्रो कार्यकाल । लगातार ६ वर्षसम्म पालिकाको नेतृत्वमा हुनुहुन्छ । कामसँगै धेरै अनुभव पनि बटुलिसक्नुभएको होला । कुराकानीको सुरुमा तपाईँको भोगाइ र अनुभव सुनौँ न ।
हिजो हामी पालिकामा आउँदाको अवस्था निकै अप्ठ्यारो थियो । पहिलो कार्यकालमा काम गर्ने विषयमा अलमल बढी थियो । केही पनि थाहा थिएन । अहिले सबै बुझिसकिएको छ । गाउँ-ठाउँदेखि यहाँको काम गर्ने तौरतरिका पनि सबै थाहा भयो । यसले गर्दा पनि सहज छ ।
हामी आएपछि नगरपालिकाको आर्थिक-सामाजिक रूपान्तरण भएको अनुभव गरेको छु मैले । विकासका धेरै कामहरूले गति लिएका छन् । बागमती नगरपालिकाले आफ्नै स्रोत कसरी जुटाउने र आफ्नो खुट्टामा कसरी उभिने भन्ने योजनाको निर्माण पनि बनाएको छ ।
सायद तपाईँलाई पनि थाहा होला, हामीले आफ्ना लागि गाडी नकिनेर यहाँका जनतालाई पानी खुवाउनका लागि पानी ट्यांकर किनेर सबै ठाउँमा पालैपालो पानी बाँडेका थियौँ । अहिलेको तुलनामा ती दिन सम्झिने हो भने निकै कष्टकर थिए ।
६ वर्षमा तपाईँहरूको नेतृत्वमा पालिकामा भएका विकासका काम सम्झिनुपर्दा के-के सम्झिनुहुन्छ ?
हिजो हाम्रो नगरपालिकामा हामीले भोट माग्न जाँदा घुँडाघुँडासम्म पानी हुन्थ्यो र हातमा चप्पल बोकेर नमस्कार गर्दै भोट माग्नुपरेको अवस्था थियो । अहिले अवस्था फेरिएको छ । आज यहाँ सबै ठाउँमा कार गुड्छन् । करिब
सबै ठाउँमा सडक पुगिसकेको छ भने ९० प्रतिशत सडक त कालोपत्र नै भएको छ । यसरी हेर्दा हामीले यहाँको सडक पूर्वाधार बनाइसक्यौँ ।
शिक्षाको कुरा गर्ने हो भने विगतमा पालिकाका २५ वटा विद्यालयमा २५ सय विद्यार्थी अध्ययन गर्थे भने अहिले १२ हजार विद्यार्थी सामुदायिक विद्यालयमा छन् । अहिले त अवस्था कस्तोसम्म भएको छ भने, विद्यालयमा भर्ना गर्नका लागि अभिभावकहरू भनसुन गर्न हामीसम्म आउनुहुन्छ । काम गर्न अझै बाँँकी नै छ । तर, पालिकाको शिक्षालाई यहाँसम्म ल्याउन हामी सफल भएका छौँ ।
यति मात्र होइन, भेटेरिनरी, कृषि र सिभिल इन्जिनियर गरी ३ वटा प्रविधिक विद्यालय पनि हामीले पालिकामा ल्याएका छौँ । अधिकांश विद्यालयका पूर्वाधारहरू अहिले बनिसकेका छन् ।
नगरपालिकाले गरेको र बिर्सनै नहुने एउटा महत्वपूणर् काम भनेको यहाँको सुकुमबासी बस्ती व्यवस्थापन पनि हो । हामीले करिब ६ हजार घरधुरी सुकुमबासीको व्यवस्थापन गरेका छौँ । हरेक घरधुरीका लागि १७ धुर घडेरी र ५ कठ्ठा जमिन दिएका छौँ । साथै उनीहरूका लागि हामीले सुकुमबासी बस्तीमै विद्यालयको पनि व्यवस्थापन गरिदिएका छौँ ।
तपाईँ त पालिकाको न्यायाधीश पनि हुनुहुन्छ । बागमती नगरपालिकामा न्याय सम्पादनको अवस्था कस्तो छ ? साथै, नगरबासीका कस्ता समस्याहरू बढी हुँदा रहेछन् ?
पालिकामा सबैथरीका मुद्दा र समस्याहरू आउँछन् । तर, पालिकाको अधिकार क्षेत्रभित्र पर्ने मुद्दालाई मात्र लिन्छौँ । हामीले समाधान गरेका र मसम्म आएका समस्याहरू हेर्दा सम्बन्धविच्छेद, साँधसिमाना, झै-झगडा र अंशबन्डाका विषय बढी आएका छन् ।
हाम्रो पालिकाको न्याय सम्पादनको विषय अन्य पालिकाको भन्दा फरक छ । अन्य पालिकामा मुद्दा दर्ता गराएपछि समाधान गरिन्छ । तर, हामी नगरबासीको समस्यालाई मुद्दाका रूपमा दर्ता गर्ने भन्दा पनि समाधान गर्नेतिर बढी जोड दिन्छौँ ।
पालिकामा दर्ता नै भएका मुद्दाको संख्या हेर्ने हो भने त मेरो यो ६ वर्षको कार्यकालमा करिब २०० जति छन् । तर, समाधान भएका मुद्दाको संख्या हजारभन्दा बढी होला ।
कसैलाई समस्या पर्यो र झै-झगडाकै अवस्था सिर्जना भयो भने हामी त्यही ठाउँमा जान्छौँ र समाधान गर्छौँ । घरमै जाँदा के हुँदोरहेछ भने- दुवै पक्षलाई मुद्दा पालिकामा गयो, सबैले थाहा पाए होला भन्ने डर नहुने र मन पनि चाँडै मिल्दोरहेछ ।
आवश्यक परेको अवस्थामा हामी न्यायिक समितिको टिमलाई नै नगरबासीको घरमा पुर्याउँछाँै । उपमेयर नै आफ्नो घरमा आएर समस्या समाधान गरिदिँदा उनीहरू पनि खुसी हुन्छन् । जसले मनमुटाव र तिक्तता पनि धेरै समयसम्म नरहने रहेछ । मैले ६ वर्षमा गरेको अनुभव पनि हो यो ।
हामीले यसो गर्नुको कारण अर्को पनि छ । कतिपयलाई पालिकासम्म आउन पनि समस्या हुन्छ । १२-१४ किलोमिटर टाढाबाट नगरपालिकासम्म आएर मुद्दा दर्ता गर्नुपर्ने, त्यसपछि समयको व्यवस्थापनलगायत विषयले गर्दा उहाँहरूलाई समय र खर्च दुवै बढ्छ । उहाँहरू घन्टौँसम्म हिँडेर वा गाडी भाडा खर्च गरेर पालिकासम्म आउनुभन्दा त हामी नै त्यहाँ जानु उपयुक्त हो नि !
यसलाई हामीले अनुगमनसँग पनि जोड्ने गरेका छौँ । न्यायिक सम्पादनको कामसँगै त्यस क्षेत्रको बजार तथा विकास निर्माणको अनुगमनलाई पनि एकैचोटि सेड्युल बनाएर गर्ने गरेका छौँ ।
न्याय सम्पादनको विषयमा तपाईँहरूले गरेको काम निकै सराहनीय रहेको देखियो । तर, तपाईँले गरेको कार्यसम्पादनको रिपोर्ट कार्ड हेर्ने हो भने त पालिकाको रेकर्डमा केही नदेखिने रहेछ त । यस्तो अवस्थाले त तपाईँ जनप्रतिनिधिहरूलाई नै समस्या पार्छ होला नि ?
तपाईँले उठाएको विषय गम्भीर हो । यसमा हामीले पनि पालिकामा कुरा उठाएका थियौँ । हजारौँ मुद्दा हेरे पनि डाटामा त छैन । भोलि त्यो डाटा कसैले हेर्यो भने त उपमेयरले यत्रो वर्ष के गर्यो ? भनेर प्रश्न पनि उठ्न सक्छ भन्ने विषयमा हामीले छलफल र समीक्षा पनि गरेका थियौँ ।
तर, हामीले के निणर्य गर्यौँ भने- हामीले गरेको कामको डाटा राख्नुभन्दा पनि हाम्रो समाज मिलाउने कुरा प्रमुख विषय हो । सामाजिक रूपमा मिलन भयो भने यो डाटा आवश्यक छैन भन्ने कुरामा हामी सबै सहमत भयौँ । बरु डाटामा ५ वटा देखियोस्, तर हाम्रो समाज चाहिँ मिल्नुपर्छ ।
कतिपय पालिकामा प्रमुख र उपप्रमुखबीचको विवाद छताछुल्ल भएर बाहिर आएका छन् । तपाईँको पालिकामा के छ अवस्था ? अनि तपाईंको कार्यक्षेत्रमा प्रमुखको हस्तक्षेप कत्तिको हुन्छ ?
मेयर सा’ब र मेरो यो दोस्रो कार्यकाल हो । ६ वर्षसम्म कुनै समस्या आएको छैन र नआओस् पनि । हामी विवाद गर्न भन्दा पनि समाधान गर्न आएका हौँ । हामी आफैँ विवाद गरेर बस्यौँ भने हामीलाई भोट दिनेहरूलाई हामीले के दिने ? यही सोचले गर्दा पनि हामीमा त्यस्तो कुनै विवादका विषय अहिलेसम्म देखापरेका छैनन् ।
यति भनिसकेपछि मेरो कार्यक्षेत्रमा मेयरज्यूको हस्तक्षेप हुन्छ-हुँदैन ? भन्ने प्रश्नको जबाफ मैले दिइरहनु पर्दैन होला । मेयरज्यू र मेरो कुराकानी हुँदा उहाँले भन्ने गर्नुहुन्छ- ‘तपाईँको अधिकारभित्र के-के पर्छ, तपाईँ खोजेर काम गर्नुस्, मेरो अधिकारभित्रको म गर्छु ।’ यसले गर्दा केही पालिकामा देखिने यस्ता विवादबाट हामी अहिलेसम्म टाढा नै छौँ ।
अबको कार्यकाल सकिँदै गर्दा तपाईँहरूले बगमती नगरपालिकालाई के-के दिएर जानुहुन्छ ? त्यस्ता केही योजना छन् ?
हामीले १२१ बिघा क्षेत्रफलमा फैलिएको एउटा ताल निर्माण गरेका छौँ । यसलाई हामीले पर्यटकीय गन्तव्यसँगै पालिकाको आयको आन्तरिक स्रोतका रूपमा विकास गर्दै लगेका छौँ । यो तालले यहाँका स्थानीयका लागि रोजगारीको ढोका पनि खोलिदिएको छ ।
त्यस्तै, कृषि क्षेत्रमा पनि आसलाग्दा काम भएका छन् । यहाँ आलु, तरुल, मकैलगायत कृषि उत्पादन धेरै नै हुन्छ । यसका लागि हामीले पालिकामा नै अन्न भण्डारण बनाउँदै छौँ । यो पनि निर्माण सम्पन्नको अन्तिम बिन्दुमा छ ।
पालिकाको आन्तरिक आयस्रोत बढाउन पालिकाकै लगानीमा हामीले बागमती फनपार्क बनाउँदै छौँ । यहाँ फनपार्कसँगै ३८ वटा कोठा र स्विमिङ पुलसहितको पार्टी प्यालेस, घुम्ने र खेल्ने ठाउँ पनि बन्दै छ । यो हाम्रो कार्यकालमा जसरी पनि सकिन्छ भन्नेमा म ढुक्क छु ।
हामीले १५० बिघा जमिनमा बागवानी बनाएका छाँै । यहाँ आँपका बिरुवाहरू लगाएका छाैँ । अर्को वर्षदेखि त्यसले पनि उत्पादन दिन सुरु गर्छ । यो पनि पालिकाको आम्दानीको अर्को स्रोत हो । यस्ता योजना धेरै छन् ।
बागमती नगरपालिकालाई आफ्नै खुट्टामा उभ्याउने र संघ र प्रदेशसँग हात फैलाउनुनपर्ने अवस्थाको निर्माण गर्नु नै हाम्रो अन्तिम लक्ष्य हो । हाम्रो बाँकी कार्यकाल पनि यसैका लागि हुनेछ ।
गाउँकाे सरकार शृंखलाः
गाउँको सिंहदरबारको हाकिम खोज्दै ६ पटक काठमाडौँको सिंहदरबार !
‘समाज निर्माणमा सबै एकजुट भइदिएको भए देश कहाँ पुगिसक्थ्यो’
‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’
प्रतिक्रिया