संघीय सरकारले काम नगरिदिँदा हामीले गाली खानु परेको छ:मेयर पाण्डे

संघीय सरकारले काम नगरिदिँदा हामीले गाली खानु परेको छ:मेयर पाण्डे


काठमाडौं ।

देशकै प्रमुख औद्योगीक तथा व्यापारिक केन्द्रको रुपमा रहेको बुटवल क्षेत्रले फेरि अर्को फड्को मार्ने पुष्ठभूमी तयार भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले दावी गरेका छन् ।

उनका अनुसार देशकै ठूलो कृषि व्यवसायीक भवनदेखि औद्योगीक क्षेत्र, सडक, बजार, केबलकार लगायतका पुर्वाधारहरु धमाधम निर्माण भइरहेकाले बुटवलले फेरि अर्को फड्को मार्ने भएको हो ।

मेयर पाण्डेले आफू पनि क्षणिक र साना काममा भन्दापनि दीर्घकालीन र धेरै जनालाई फाईदा हुने काममा केन्द्रीत भएको जानकारी दिए ।

बुटवलदेखि मुक्तिनाथसम्मको बाटो चाँडो सम्पन्न गर्न संघीय सरकारलाई अनुरोध गर्दै उनले त्यस मार्गबाट भारतका भक्तजन मुक्तिनाथ र तिब्बतका तिर्थयात्री लुम्बिनी आउने क्रम अत्यधिक बढ्ने दावी पनि गरे।

२ ओटा नयाँ नगर अस्पताल दशैपछि सञ्चालनमा आउने र आम्दा अस्पताललाई ३०० बेटमा विस्तार गर्न जापानसँग सम्झौता भइसकेकाले स्वास्थ्य सेवामा पनि बुटवल अब्बल बन्न लागेको उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको पालिका वहसमा मेयर पाण्डेले दैनिक ३०० टोल समिति मार्फत सरसफाईको काम भइरहेको र हरेक शनिबार टोलवासी नै सरसफाईमा उत्रिने भएकाले बुटवल सफा, सुग्घर र सुन्दर बन्दै गइरहेको बताए ।

उनले ५०० छाडा चौपाया व्यवस्थापन गर्नेगरी गौशाला निर्माण भइसकेको र आफ्नो कार्यकाल भरीमा १० हजार परिवारलाई लालपुर्जा दिलाएर सुकुम्बासी समस्या समाधान हुने दावी गरे ।

नगरको नौलो कार्यक्रमका रुपमा गृहीणी महिलाहरुलाई सिप सिकाउने र कोशेली घर स्थापना गरी उनीहरुका उत्पादन विक्रि गर्नेगरी “गृहीणी महिला स्वरोजगार” कार्यक्रम सञ्चालन गर्न लागिएको पनि मेयर पाण्डेले जानकारी दिए।

उपमहानगरपालिका संघका संस्थापक संयोजक समेत रहेका पाण्डेले स्थानीय सरकारका लागि संघीय सरकार नै बाधक भएको आरोप लगाए ।

उनले भने, “स्थानीय तहमा गर्नुपर्ने कामका लागि संघीय सरकारमा डेलिगेसन जादाँ जादै हाम्रो धेरै समय वितेको छ, संघीय सरकारले काम नगरिदिँदा हामीले गाली खानु परेको छ ।’ मेयर पाण्डेले स्थानीय सरकारलाई दिनु पर्ने काम पनि संघीय सरकारले नै गर्न खोज्दा समस्या भइरहेको अनुभव सुनाए ।