द्रूत बस : ३ करोडको रातो रंग १० दिनमै उप्कियो

द्रूत बस : ३ करोडको रातो रंग १० दिनमै उप्कियो


काठमाडौं ।

संविधान दिवसको अवसर पारेर तामझामका साथ काठमाडौँको रत्नपार्क देखि भक्तपुरको सुर्यविनायकसम्म सञ्चालनमा ल्याइएको द्रूत बस सेवाका लागि सडकमा रातो रंग लगााउन र संकेत मात्रै सरकारी कोषबाट करिब ३ करोड १० लाख खर्च हुने भएको छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्म रंग लगाएको र संकेत लेखिएको बिल भुक्तानी गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालयमा फाइल पुगेको छ । यस रुटमा रंग लगाउन र संकेत लेख्न चारवटा कम्पनीलाई जिम्मा दिइएको छ ।

कम्पनीले त्यसको बिल सडक विभागलाई बुझाएका छन् । यद्यपि, अझै बिल भुक्तानी भइनसकेको विभागका कर्मचारी बताउँछन् ।

तीन करोड १० लाख रूपैयाँ खर्च गरेको लगाएको रंग १० दिनमै ठाउँठाउँमा उप्किएको विभागकै इञ्जिनियरहरू स्वीकार गर्छन् । द्रूत बस सेवा सञ्चालनको लागि छुट्टै लेनको संकेत गर्न रातो रंग लगाइएको हो ।

रातो रंग र संकेत लेख्ने काम रत्नपार्कदेखि जडिबुटीसम्म काठमाडौं सडक डिभिजन कार्यालय र जडिबुटीदेखि सूर्य विनायकसम्म, सूर्यविनायक, धुलिखेल– सिन्धुली–बर्दिवास सडक आयोजनाले गरेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार रत्नपार्कदेखि जडिबुटीसम्म रातो रंग लगाउन के एएम कन्स्ट्रक्सन तथा अनिता बिजनेस हाउस पुतलीसडकलाई जिम्मा दिइएको थियो । यसैगरी, रत्नपार्कदेखि जडिबुटीसम्म साइनपोष्ट र साइनबोर्ड (रातो रंगभित्र लेखिएका अक्षर र बोर्ड) लेख्न सौरभ आटर्स एन्ड मिडिया सर्भिसेजसलाई जिम्मा दिइएको थियो ।

यसैगरी, काठमाडौंको जडिबुटीदेखि भक्तपुरको सूर्य विनायकसम्म नयाँ युग प्रालिले रंग लगाएको हो । जडिबुटीदेखि सूर्य विनायकसम्म साइन पोष्ट र साइनबोर्ड बनाउने काम पनि सोही कम्पनीलाई जिम्मा दिइएको थियो भने सूर्यविनायक, धुलिखेल सिन्धुली बद्रीबास सडक आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले जनाए ।

सडक विभाग काठमाडौंका इञ्जिनियर हरिकुमार ठकुरीका अनुसार रत्नपार्क देखि जडिबुटीसम्म रंग लगाउन, पेन्टिङ गर्न तथा साइनबोर्ड राख्न भ्याट सहित १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । यसैगरी, जडिबुटीदेखि सुर्यविनायकसम्मको रुटमा यी काम गर्न एक करोड ६० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको सिडिइ लामिछानेले जनाए । सडक विभागमा बुझाइएको बिल अझै भुक्तानी भइनसकेको भन्दै ठकुरीले भने, ‘ठाउँठाउँमा रंग उप्किएको सही हो । तर उप्किएको ठाउँमा नबनाएसम्म हामीले भुक्तानी गर्दैनौं । अहिले सच्याउने काम सुरु भइसकेको छ ।’ निकै हतार हतारमा काम गर्नुपर्ने भएकाले यसअघि काम गरेका र अनुभवका आधारमा तीनवटा कम्पनी छान्नुपरेको उनले बताए । यस्तै भनाइ सूर्यविनायक, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका सिडिइ लामिछानेको छ ।

भदौ दोस्रो साता काठमाडौंको कुनै ठाउँमा दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री कार्यालय तहबाट गरिएको थियो । त्यसपछि यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाइ दिइयो । भदौ तेस्रो साता मन्त्रीस्तरीय निर्णयबाट रत्नपार्कदेखि सूर्यविनायकसम्म दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय गरियो । त्यसभन्दा पहिले काठमाडौंका दुई तीनवटा सम्भावित रुटको अध्ययन गरिएको थियो । अध्ययनबाट सबैभन्दा उपयुक्त रुट रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुट देखिएको थियो ।

हतार हतारमा निर्णय गरी हतारहतारमै रातभर काम गरेर रंग लगाउने र लेख्ने काम सम्पन्न भएको भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘यो हाम्रो पहिलो अनुभव थियो । यसअघि यसरी सडकमा रातो रंग कहिल्लै लगाएका थिएनौं,’ ठकुरीले भने । दु्रत बस सेवा सञ्चालनको उद्घाटन निकै चर्चा र तामझामका साथ गरिएको थियो । उद्घाटन गर्दा अब देखि रत्नपार्कदेखि सूर्यविनायकसम्को यात्रामा ४५ मिनेट मात्र समय लाग्ने चर्चा गरिएको थियो ।

रत्नपार्क देखि सूर्यविनायकसम्म करिब १८ किमि लामो सडक छ । यस रुटमा दु्रत बस सेवा सुरु गरेपछि यता करिब १५ मिनेट यात्रा छोटो भएको यात्रुहरू बताउछन । भौतिक पूर्वाधार मन्त्रालयले दु्रत बस सेवा सफल बनाउन यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा एउटा समिति नै गठन गरेको छ । उक्त समितिमा ट्राफिक प्रहरीका प्रतिनिधिहरूलाई पनि राखिएको छ ।

विभागका एक कर्मचारी भन्छन्, ‘दु्रत बस सेवाका लागि छुट्टयाएको बाटोमा अरू बस तथा सवारीसाधनलाई छिर्न नै नदिने हो भने यो सेवा प्रभावकारी हुने थियो । तर यो सम्भव छैन । त्यसैले दु्रत बस बस सेवा चर्चा गरे जस्तो सफल भएन ।’ दु्रत बस सेवा सोचजस्तो सफल नभए पनि यो सेवा बन्द गर्न नहुने र यसलाई अझै विस्तार गर्दै जानुपर्ने उनको सुझाव छ । ‘यो नेपालका लागि नयाँ प्रयोग हो । यस कामलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने । यो समाचार आजको नागरिक दैनीकमा छापीएको छ ।

याे पनि   ‘मन्त्रीको फोटो खिच्न’ अढाई करोड खर्च !

       पूर्वाधार छैन, द्रुत बसको ‘स्टन्ट’