धमाधम असर्फी र चाँदीका सिक्का बेच्दै राष्ट्र बैंक, कहिले सम्म किन्न पाइने ?

धमाधम असर्फी र चाँदीका सिक्का बेच्दै राष्ट्र बैंक, कहिले सम्म किन्न पाइने ?


काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले कात्तिक १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री वितरण गर्दै आइरहेको छ।

राष्ट्र बैंकका अनुसार एक जना व्यक्तिले सुनका असर्फी तीन मोडलका एक/एक थान खरिद गर्न सक्नेछन्। सुनका असर्फी विशेष गरेर १० ग्राम, ५ ग्राम र २.५ ग्राममा उपलब्ध छन्।

टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले गत कार्तिक १९ गतेदेखि कात्तिक २४ गतेसम्म मुद्रा व्यवस्थापन विभाग,टक्सार महाशाखा बबरमहलबाट असर्फी खरिद गर्न सकिने बताए।

चाँदीका सिक्का एक सेटमा गाई अकिंत २५ ग्राम, गाई अकिंत १० ग्राम र लक्ष्मी अंकित १० ग्राम र गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम बिक्रीको लागि राखिएको छ। राष्ट्र बैङ्कले दैनिक असर्फी तथा चाँदीको सिक्काको मूल्य दैनिक निर्धारण गर्दै आइरहेको छ। टक्सार महाशाखाका अनुसार बुधबार १० ग्राम सुनको असर्फीको लागि १ लाख एक हजार तीन सय ३५ रुपैयाँ मूल्य तोकिएको छ।

त्यसैगरी ५ ग्रामको सुनको असर्फीको लागि ५० हजार ६ सय ६८ रुपैयाँ र २।५ ग्राम असर्फीको लागि २५ हजार तीन सय ३४ रुपैयाँ मूल्य तय गरिएको छ। त्यसैगरी १० ग्राम लक्ष्मी/गणेश/गजलक्ष्मी/गाई अंकित मेडालियनको मूल्य एक हजार ६ सय रुपैयाँ तोकिएको छ। त्यसैगरी २५ ग्राम गाई अंकित मेडालियनको मूल्य ४ हजार रुपैयाँ तोकिएको छ।