विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, ५० करोड असुल

विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, ५० करोड असुल


काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ ।

प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ ।

मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।