काठमाडौं – काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । एनपिएलमा लुम्बिनीले छ खेल खेल्दा पाँच खेलमा पराजित भयो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली प्लेअफबाट बाहिर हुने आठ मध्ये पहिलो टोलीसमेत बन्यो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.२ ओभरमा अल आउट हुँदा मात्र एक सय ४ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदा मात्र ८५ रन बनाउन सक्यो ।
पछिल्लो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै प्लेअफ सम्भावना यथावत राखेको थियो । त्यसअघि लगातार विराटनगरसँग २ विकेट, पोखरासँग १० विकेट, सुदूरपश्चिमविरुद्ध ४५ रन र जनकपुरविरुद्ध १ रनले पराजित भएको थियो ।
चौथो खेल खेलिरहेको काठमाडौंले दोस्रो जित निकाल्यो । उसले कर्णाली याक्सलाई ३ विकेटले हराउँदा चितवनसँग ५ विकेट र सुदूरपश्चिमविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।
छैटांै खेलमा लुम्बिनीका तीन खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । सन्दीप जोराले २९ बलमा दुई चौकासहित सर्वाधिक २६ रन बनाए । उनलाई करणको बलमा शाहव आलमले क्याच आउट गराएका थिए ।
अमेरिकाका उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १४ रन बनाएका हुन् । कप्तान रोहित ८, ओपनर अर्जुन साउद ३, टम मुर्स ६, सन्दीप जोरा ..साद विन जफर गोल्डेन डकआउट र विवेक यादव २ रन बनाएर आउट भएका थिए । सुर्य ११ रनमा अविजित रहे ।
काठमाडौंका तिव्रगतिका बलर तथा कप्तान करण केसीले चार ओभरमा १६ रन खर्चिँदै सर्वाधिक चार विकेट हात पारेका थिए । स्पिनर दीपेश कँडेलले तीन तथा गेहार्ड इरास्मसले दुई विकेट हात पारे । रसिद खानको नाममा एक विकेट रह्यो ।
काठमाडौंको लागि तेस्रो नम्बर क्रिजमा पुगेका भिम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाए । २७ वर्षीय इंग्लिस खेलाडी डानियल एलेक्जान्डर डाउथवेटले २१ रन बनाएका थिए । यसबाहेक प्रतिक श्रेष्ठले १४ बलमा ३० र अफगानिस्तानका युवा ब्याटर स्टेफन इस्किनाजीले १३ रनको योगदान गरेका थिए । ओपनर माइकल लेभिट दुई बल खेलेर डकआउट भएपछि काठमाडौं दबाबमा आएको थियो । त्यसपछि जेहार्ड इरास्मस १, सुमित महर्जन ४, रसिद खान १, कप्तान करण केसी १ रन, शाहव आलम ८ रन बनाएर आउट भएका थिए । लुम्बिनीका लागि साद विन जफरले ३ तथा रेमन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट हात पारे । सुर्य तामाङ र विवेक यादवले समान एक विकेट लिए ।
आज नै भएको पहिलो खेलमा सुदूरपश्चिमले जनकपुर रोयल्सलाई ७२ रनले हरायो ।
बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाज भिड्नेछन् ।
प्रतिक्रिया